१९ फाल्गुन २०७६, सोमबार

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा लामाचौरमा



काठमाडौं । एनआई सी एशिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका ९, लामाचौरमा ५५ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको उद्घाटन आईतबार सोही वडाका अध्यक्ष नर बहादुर बुढामगरले गरे । बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्ती गरेको छ ।

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने भएका छन । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्