नेप्सेमा सूचीकृत ८ वटै राष्ट्रियस्तरका विकास बैंकको यस्तो छ बित्तीय विवरण « Arthapath.com
९ भाद्र २०७७, मंगलवार

नेप्सेमा सूचीकृत ८ वटै राष्ट्रियस्तरका विकास बैंकको यस्तो छ बित्तीय विवरण



काठमाडौं । नेप्सेमा सूचीकृत ८ वटै राष्ट्रियस्तरका विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वितीय विवरण सार्वजनिक गरेका छन् । पुँजी, नाफा, ब्याज आम्दानी लगायतका प्रमुख सूचकमा मुक्तिनाथ विकास बैंकले अग्र स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै चुक्ता पुँजि वृद्धिको आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । यसको पुँजी ८५.८८ प्रतिशतले बढेर ३ अर्ब १ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

बैंकले पूर्णिमा र भार्गव विकास बैंकलाई एक्वायर गरेर गत असोज २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेकाले यसको पुँजी उल्लेख्य वृद्धि भएको देखिएको हो । तर चुक्ता पुँजि भने सबैभन्दा धेरै पुँजी मुक्तिनाथ विकास बैंकको ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ रहेको छ । यता, कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंकको पुँजी भने अघिल्लो वर्षकै यथावत छ ।

असार मसान्तसम्म अइपुग्दा ७ वटा विकास बैंकको खुद ब्याज आम्दानी बढेको छ । यता, लुम्बिनी विकास बैंकको भने खुद ब्याज आम्दानी अघिल्लो वर्षको भन्दा ५.०९ प्रतिशत ले घटेर १ अर्ब १० करोड ५३ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ ।

यसको खुद ब्याज आम्दानी ४६.२० प्रतिशतले बढेर १ अर्ब ३३ करोड ८ लाख १० हजार रुपैयाँ पुगेको छ । रकममा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा भने मुक्तिनाथ विकास बैंक परेको छ । यसको खुद ब्याज आम्दानी १७.२२ प्रतिशत ले बढेर २ अर्ब २२ करोड ११ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

८ वटै बैंकमध्यमा शाइन रेसुंगाबाहेकका सबै बैंकको नाफा घटेको छ । शाइन रेसुंगाको नाफा १३.३९ प्रतिशत ले बढेर ४७ करोड ४५ लाख १६ हजार रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै नाफा घट्नेमा कामना सेवा विकास बैंक रहेको छ । रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

यसरी नै शाइन रेसुंगाबाहेक अरु बैंकको वितरणयोग्य नाफा पनि गिरावट आएको छ । बैंकको वितरणयोग्य नाफा ४.९८ प्रतिशतले बढेर ३३ करोड २२ लाख ४६ हजार रुपैयाँ पुगेको छ । महालक्ष्मी र सांग्रिला डेभलपमेन्ट बैंकको भने गत आर्थिक वर्षको वितरण योग्य नाफा वित्तीय विवरणमा समावेश छैन । सबैभन्दा धेरै वितरणयोग्य नाफा मुक्तिनाथ विकास बैंकको ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

यता प्रतिसेयर आम्दानी भने ८ वटै बैंकको घटेको छ । यसवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी घट्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३३ पैसाले घटेर १३ रुपैयाँ ९५ पैसा वार्षिक कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्