नेपाल बैंकले महिलालाई २.८ र पुरुषलाई ३.८५ ब्याजमा कर्जा दिने « Arthapath.com
२९ कार्तिक २०७७, शनिबार

नेपाल बैंकले महिलालाई २.८ र पुरुषलाई ३.८५ ब्याजमा कर्जा दिने



काठमाडौं । उद्यम गर्न चाहने नगरवासीलाई सघाउ र्पुयाउने उद्देश्यका साथ भीमदत्त नगरपालिकाले नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी सम्झौता गरेको छ । “मेयर उद्यमशीलता विकास कार्यक्रम” अन्तर्गत व्यवसाय गर्न चाहनेलाई सघाउन सम्झौता भएको हो ।

नगर प्रमुख सुरेन्द्रबहादुर बिष्ट र बैंकका महेन्द्रनगर शाखाका प्रबन्धक कमलबहादुर चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नगरपालिकाको सातौं नगरसभाले १०० जनालाई उद्यमी व्यवसायी बनाउने नीति तथा कार्यक्रम पारित गरेको थियो । उक्त कार्यक्रमअनुसार उद्यम व्यवसाय गर्न चाहने नगरवासीका लागि बैंकसँग ब्याज अनुदान दिएर ऋण उपलब्ध गराउन सम्झौता गरिएको हो ।

नगर प्रमुख बिष्टका अनुसार कोरोना संक्रमणका कारण विदेशबाट रोजगारी गुमाएर फर्किएका र स्थानीयस्तरमा रोजगारी पाउन नसकेकालाई कार्यक्रमले प्राथमिकतामा राखेको छ । ऋण लिएर उद्यम–व्यवसाय गर्न चाहनेले आफ्नो व्यावसायिक योजनाको आधारमा नगरपालिकाको सिफारिसमा बैंकबाट ऋण पाउने छन् । ऋणको ब्याज नगरपालिकाले तिरिदिने सम्झौता उल्लेख छ ।

भारतसहित तेस्रो मुलुकबाट फर्केका बासिन्दालाई सहयोग गर्न यस अघि नै क्वारेन्टिनबाट काम गर्न चाहने व्यवसायका लागि नगरपालिकाले लगत संकलन गरिसकेको छ । नगर क्षेत्रका ११ हजारभन्दा बढीको फारम पनि संकलन गरिएको छ । कृषि, गैर कृषि, पशुपालन र जडीबुटीलगायत व्यवसायमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । व्यवसायीले बिना धितो बैंकबाट ऋण पाउने छन्। ब्याज आफूले तिर्नु पर्दैन ।

नगरपालिकाले कोषमा जम्मा गर्ने रकमको आधारमा बैंकले कर्जा दिन लागेको हो । त्यसका लागि चालु वर्ष नगरपालिकाले बैंकको कोषमा एक करोड रूपैयाँ रकम जम्मा गर्न लागेको छ। बैंकका शाखाका प्रबन्धक चन्दले तिहारपछि सम्झौता अनुसार कर्जा उपलब्ध गराउन शुरु गरिने बताए । सहुलियत पूर्ण कर्जामा पनि पुरुषलाई ३.८ र महिलालाई २.८ प्रतिशत ब्याजमा ऋण दिइने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्