नेपाल सरकार र विश्व बैंकद्वारा करिब साढे नौ अर्ब बराबरको आयोजनामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र विश्व बैंकद्वारा आठ करोड अमेरिकी डलर करिब रु साढे नौ अर्ब बराबरको आयोजनामा आज हस्ताक्षर भएको छ ।जसले ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवद्र्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्नेछ ।
उक्त ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाको वित्तीय सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन ।
“यस आयोजना मार्फत प्रदान गरिएको अत्यावश्यक सहयोगका लागि हामी विश्व बैंकलाइ धन्यवाद् दिन्छौं । यस आयोजनाले ग्रामीण उद्यमहरू र साना उत्पादक समूहहरूलाई बजार र संस्थागत खरिदकर्ताहरू सम्म जोड्नेछ। ” अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले भन्नुभयो । “कृषि क्षेत्र र बजारको दिगो सम्बन्धलाइ स्थापित गर्दै यस आयोजना मार्फत प्रोत्साहित गरिने कृषि व्यवसाय प्रतिस्पर्धाले कोभिड महामारी पश्चातको आर्थिक पुनरुत्थानलाई सघाउनेछ ।”
यस आयोजनाले ग्रामीण उत्पादक समूहहरू र निजी क्षेत्रका क्रेताहरू बीच उत्पादनशिल साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गर्नेछ । साथै यस आयोजनाले उच्च मुल्यका आन्तरिक र अन्तर्राष्ट्रिय बजार मुल्य श्रृंखलाको विकास गर्दै उक्त बजार श्रृंखलामा दीर्घकालीन समावेशीकरण लाई पनि बढावा दिनेछ ।
यो आयोजना प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ । यस अन्तर्गत यस आयोजनाले ग्रामीण उद्यमीका लागि पर्याप्त बजारका अवसरहरू स्थापित गर्नेछ । साथै यस आयोजनाले प्रदेश र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था, तथा साना र मझौला कृषि उद्यमीहरूसँग सहकार्य गर्दै कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्न र उद्यमशीलता इकोसिस्टमको सुदृढीकरणमा काम गर्नेछ ।
यो आयोजनाले पालिका तहका कृषि केन्द्रहरु र कृषि उत्पादनको मूल्य श्रृंखला पूर्वाधार विकासमा लगानी गर्नेछ जसका कारण कोभिड–१९ बाट प्रभावित कृषि क्षेत्रको पुनरूत्थानमा मद्दत पुग्नेछ। आयोजनाले छोटो अवधिका सार्वजनिक कार्यहरूमा श्रम–सघन ‘कामका लागि नगद’ संयन्त्रको उपयोग गर्नेछ ।