ग्लोबल आइएमई बैंकको ऋणपत्र विक्रीको समय थपियो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाडौं । ग्लोवल आइएमई बैंकको निष्कासन गरेको ऋणपत्रको आवेदन अवधी थप भएको बैंकले जनाएको छ । बैंकले चैत्र १ गतेदेखी निष्कासन गरेको ग्लोवल आइएमई डिभेञ्चर २०८६÷०८७ को म्याद १२ दिन थप भएको छ ।
बैंकले प्रतिऋणपत्र रु १ हजार अंकित मुल्यको ३ अर्वको ३० लाख कित्ता डिभेञ्चर निष्काशन गरेको थियो । ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷०८७’ मा चैत्र १ गतेदेखी आवेदन खुला गरेको थियो । सो डिभेञ्चरमा अव सर्वसाधारणले चैत्र १६ गतेसम्म आवेदन दिन पाउनेछन ।
बैंकले निष्कासन गरेको ३ अर्ब ऋणपत्रमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गर्नलागेको छ । १ अर्ब २० करोडको १२ लाख कित्ता भने सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
सो ऋणपत्रको ५ प्रतिशत हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । ग्लोवल आइएमईले ल्याएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन ।
१० वर्षे अवधीको सो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात ब्याज प्राप्त गर्नेछन । ऋणपत्र सिआश्वा सदस्य बैंकबाट आवेदन दिन सकिने बैंकले जनाएको छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।