इन्भेष्टमेण्ट र हिमालयन बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर, अध्यक्ष पाँडे र सीईओ राणा रहने सहमति

काठमाडौं । नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हिमालयन बैंक लि.बीच एकआपसमा गाभ्न–गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र हिमालयन बैंक लि. को तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.तथा हिमालयन बैंक लि.दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पूँजी रु.१६.२६ अरब.तथा हिमालयन बैंक लि. को चुक्ता पूँजी रु. १०.६८ अरब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पूँजी रु.२६.९४ अरब भै सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को जगेडा तथा कोष रु. १४.१० अरब र हिमालयन बैंक लि. को रु. ७.६७ अरब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६०.९८ अरब र हिमालयन बैंक लि. को रु. १२७.१४ अरब, र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६८.२९ अरब र हिमालयन बैंक लि. को रु. १४३.७० अरब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।