इन्भेष्टमेण्ट र हिमालयन बैंक मर्ज भएपछि के हुन्छ ? यस्तो छ दुई बैंकको ईतिहाँस « Arthapath.com
३० बैशाख २०७८, बिहीबार

इन्भेष्टमेण्ट र हिमालयन बैंक मर्ज भएपछि के हुन्छ ? यस्तो छ दुई बैंकको ईतिहाँस



काठमाडौं । विहीवार दुई ठूला र पुराना बैंकबीच आपसमा गाभिने समझदारी भएपछि नेपाली वित्तीय प्रणालीले नै नयाँ मोड लिने विश्लेषण हुन थालेका छ । नेपाल इन्भेष्टमेण्ट र हिमालय बैंकबीच मर्जरमा जान औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल इन्भेष्टमेण्टका सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षेर गरेका छन् । मर्जरपछि दुबै बैंकबाट ३–३ जना सञ्चालक राख्ने र थप १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने सहमति भएको छ ।

दुई बैंक एक भएपछि सञ्चालक समिति अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक राणा रहने छन् । इन्भेष्टमेण्टका सीईओ ज्योति पाण्डे भने मर्जरपछि विशेषाधिकारसहित डेपुटी सीईओको भूमिकामा रहने छन् ।

दुई बैंकले सम्पत्ती र दायित्व मूल्यांकन (डीडीए)को काम सकेर मात्रै समझदारी पत्रमा हस्ताक्षेर गर्ने योजना अघि सारेका थिए । डीडीए सकेर मर्जरमा जाने औपचारिक समझदारी गर्न पाँच महिना समय गुजारेका दुई बैंकले सकेसम्म चाँडै एकीकृत कारोबार थाल्ने बताएका छन् । प्रारम्भिक डीडीए प्रतिवेदनअनुसार नेपाल इन्भेस्टमेण्टको १ सय रुपैयाँ सम्पत्ती बराबर हिमालयनको १०२ रुपैयाँ ५० पैसा हाराहारी आएको भनिएको छ ।

यद्यपि, डीडीएमा १० प्रतिशतसम्म तलमाथि भए पनि समान हैसियत (सेयर स्वाप १ः१ को अनुपात)मा मर्जरमा जाने सहमति यसअघि नै भएको छ । वास्तविक स्वाप अनुपात भने विस्तृत डीडीए गरेपछिमात्रै थाहा हुने बैंकका एक सञ्चालक बताउँछन् ।

मर्जरपछि यी बैंकको सञ्चालन खर्चमा कटौति हुने भएकाले यसको लाभ ऋणी र निक्षेपकर्ता दुबैले पाउने छन् । दुबै बैंकसँग भिन्दाभिन्दै एटीएम स्वीच छ । दुबै बैंकले अन्तरराष्ट्रिय भुक्तानी प्रणालीहरुको अनुमति लिएका छन् । यस्ता थुप्रै सञ्चालन खर्च कटौति हुने छ । त्यसो त, कर्मचारीका लागि हिमालयन बैंकको विनिमावली मान्ने सहमति भएको छ । अहिले इन्भेष्टमेण्टमाभन्दा हिमालयनमा बढी तलव सुविधा भएकाले इन्भेष्टमेण्टका कर्मचारीलाई यो सुखद समचार हुन्छ ।

लामो ईतिहासको गठजोड

नेपालमा निजी क्षेत्रको दोस्रो बैंक हो नेपाल इन्भेष्टमेण्ट । शुरुमा दुबईको तत्कालिन दुबई बैंक लिंसँगको साझेदारीमा सन् १९८४ मा नेपाल अरब बैंक स्थापना भएपछि नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको बैंकले हिस्सेदारी पाएको हो । यो बैंकको बहुमत स्वामित्व सन् १९९५ मा व्यवसायी विनोद चौधरीले लिएर नबील बैंकको रुपमा सञ्चालन गरेका छन् ।

त्यसपछि सन् १९८६ मा फ्रान्सको अन्तरराष्ट्रिय बैंक ‘तत्कालिन इण्डोसुएज’ सँगको संयुक्त लगानीमा नेपाल इण्डोसुएजबैंक स्थापना भयो । १९ वर्षअघि २००२ अप्रिलमा पृथ्वीबहादुर पाँडे लगायतको टोलीले यो बैंकको ५० प्रतिशत सेयर स्वामित्व किनेपछि नेपाल इन्भेष्टमेण्ट बैंक बनाएका थिए ।

सन् १९८७ ग्रिनलेज बैंक नेपाल खुल्यो । निजी क्षेत्रको चौंथो र नेपालीको बहुमत स्वामित्व भएको पहिलो बैंकको रुपमा हिमालयको स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जङ्गबहादुर राणाले अगुवाइ लिएर खोलेको यो बैंक पाकिस्तानको हबिब बैंकसँगको साझेदारीमा सन् १९९३ मा स्थापना भएको थियो । वित्तीय क्षेत्रमा निजी लगानी खुला गरिएपछि स्थापना भएका यी पुराना बैंकहरुको गठजोडले नेपाली बैंकिङ क्षेत्रलाई नयाँ युगमा लैजाने बैंकर बताउँछन् ।

वित्तीय स्थायित्वका लागि महत्वपूर्ण

शाखा सञ्जाल र कर्मचारीको हिसाबमा यो बैंक धेरै ठूलो हुने छैन । मर्जरपछि पनि बैंमका २५ सयभन्दा कम कर्मचारी हुने छन् भने डेढ सय हाराहारी शाखा कायम रहने छन् । दुईओटा बैंकका एकैठाउँमा भएका शाखा मर्ज गर्दा अहिले भएको कुल संख्याबाट घट्ने छ । दुबै बैंकले निश्चित कर्मचारीलाई एकीकृत कारोबारमा जानुअघि नै अवकाश दिने योजना बनाएका छन् ।

तर कारोबारको आकारमा भने यो ठूलो बैंक बन्ने छ । अहिले अस्तित्वमा रहेका २७ बाणिज्य बैंकको कुल नेटवर्थको ९ प्रतिशतभन्दा बढी यो एउटै बैंकसँग हुने छ । यो आर्थिक वर्षको अन्त्यसम्म यी दुइृ बैंकको नेटवर्थ ४ खर्ब रुपैयाँ नाघ्ने छ । करीब ३ खर्ब निक्षेप र २ अर्ब ८८ अर्ब कर्जाको व्यवस्थापन गर्ने ठूलो बैंकको रुपमा उदाउने छ । यी दुई बैंकले तेस्रो त्रैमाससम्ममा मात्रै झण्डै २२ अर्ब रुपैयाँ सरकारलाई आयकर तिरेका थिए ।

यो विशाल आकारमा खडा हुने ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक’ नेपालको वित्तीय स्थायित्वका लागि निकै महत्वपूर्ण बन्ने छ । नेपाल राष्ट्र बैंकले ठूला र सक्षम बाणिज्य बैंकहरु निर्माण गर्ने योजना अघि सारेको लामो समयमा यी ठूला बैंक आपसमा जोडिने तयारी थालेका हुन् । बढ्दो साइबर जोखिम र प्रविधिमा हुने विशाल लगानी एकातिर छ भने सरकारको विकास गतिविधीमा लगानी बढ्दै जाँदा त्यस्ता आयोजनामा प्रत्याभूति दिने ठूलो वासलातका बैंकको खाँचो पनि यो बैंकले केही हदसम्म मेट्न सक्छ ।

दुई बैंक गाभिँदा लगभग ५० अर्ब पूँजीको संस्था बन्ने छ । ठूलो संस्थाको लाभ सँगै यसको नियामकीय जोखिम पनि उत्तीकै बढ्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । ‘हामीले प्रणालीगत रुपमा महत्वपूर्ण बैंकहरुको पहिचान गरेर उनीहरुलाई विशेष नियमन गर्ने योजना अघि सारेको एक वर्ष भयो,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन् ।

यस्ता संस्थालाई राम्रोसँग चलाउन सके स्थायित्व र विकासका लागि लाभदायक हुने, तर सही व्यवस्थापन गर्न नसके जोखिम पनि त्यत्तिकै बढ्ने ती अधिकारी बताउँछन् । उनी भन्छन्, ‘तर अहिलेसम्म अघि बढ्न सकेको छैन । बैंकहरु यति ठूला बन्न थालेपछि त्यसले अर्थतन्त्रमा पार्ने प्रभाव पनि त्यसरी नै बढ्छ । जुन नियामकका लागि ठूलो चूनौति हो ।’

स्वामित्वमा पनि बदलाव

यी दुई बैंक मर्ज भएपछि बन्ने नयाँ संस्थामा सबैभन्दा ठूलो सेयर धनिको रुपमा व्यवसायी शशिकान्त अग्रवाल उदाउने छन् । उनीसँग अहिले दुबै बैंकका लगभग १२–१२ प्रतिशत सेयर स्वामित्व रहेको बैंकर बताउँछन् । झण्डै आधा दर्जन कम्पनी र व्यक्तिगत नाममा उनले संस्थापक र साधारण सेयर थुपारेका छन् ।

हालका ठूलो स्वामित्व बोक्ने मनोजबहादुर श्रेष्ठ, हिमालयशम्शेर जबरा, पृथ्वीबहादुर पाँडेजस्ता सेयरधनीको स्वामित्व घट्ने छ । उता हिमालयनका २० प्रतिशत स्वामित्व बोकेर बसेको हबिब बैंकले नेपालबाट लगानी फिर्ता लान खोजेको लामो समय भइसकेको छ । राष्ट्र बैंकले मर्जरको प्रक्रियाकै बीच पनि हबिबले चाहेमा नेपालबाट लगानी फिर्ता लानसक्ने स्वीकृति दिएको बैंकका अधिकारीले बताएका छन् ।

उक्त सेयर कर्मचारी सञ्चय कोषले किन्न खोजिरहेको छ । यो सेयर किन्ने हो भने कर्मचारी सञ्चय कोष पनि ठूलो लगानीकर्ताको रुपमा आउने छ । निजी प्रबद्र्धकहरु भने हबिबको सेयर कर्मचारी सञ्चय कोषको हातमा जान नदिने रणनीतिमा छन् । सञ्चयकोषले सेयर किनेमा बैंकको ठूलो स्वामित्व सरकारी कम्पनीमा पुग्ने र यसले बैंक व्यवस्थापनमै समस्या खडा गर्ने बुझाइ हिमालयन समूहको छ । इन्भेष्टमेण्टले ३१ प्रतिशत र हिमालयनले १५ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणमा दिएको छ ।


प्रतिक्रिया दिनुहोस्