जेठमै मात्र थपियो ३४ अर्ब कर्जा, राष्ट्र बैंकको तथ्यांक भन्छः सेयर बजारले उचाल्यो « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

जेठमै मात्र थपियो ३४ अर्ब कर्जा, राष्ट्र बैंकको तथ्यांक भन्छः सेयर बजारले उचाल्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ महिनामा मात्रै कम्तिमा ३४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह भएको छ । गत आइतवारसम्म बैंक तथा वित्तीय संस्थाले ४० खर्ब ९५ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

गत वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा ४० खर्ब ६१ अर्ब रुपैयाँ थियो । यसबीचमा बैंक वित्तीय संस्थाले निक्षेप रकम पनि ३२ अर्बभन्दा धेरैले बढाएका छन् । वैशाखमा ४४ खर्ब ७२ अर्ब ५५ करोड निक्षेप संकलन गरेका वित्तीय संस्थाले जेठ ३० सम्ममा ४५ खर्ब ५ अर्बभन्दा बढी पुर्याएका छन् ।

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय सेयर बजारमा भारी कर्जा विस्तार भएको देखाउँछ । गत जेठको क्षेत्रगत कर्जा स्थितिबारे स्पस्ट नदेखिए पनि वैशाखमा भने सेयर बजारमा लगानी गर्न विभिन्न नाममा बैंकको कर्जा बढाइएको पाइएको छ ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वैशाखसम्मा सेयरको धितोमा प्रवाह हुने मार्जिन कर्जा अघिल्लो वर्षको तुलनामा ८७.२ प्रतिशत बढेको छ । यो पैसा सिधै सेयर किन्नकै लागि भनेर लिने हो । यसबाहेक पनि विभिन्न प्रयोजनका लागि भन्दै गलत विवरण बुझाएर बैंकबाट ऋण लिँदै, सेयर बजारमा लगानी गर्दै गर्ने प्रबृत्ती छ ।

खासगरी ओभरड्राफ्ट कर्जा, आवधिक कर्जा र चालू पूँजी कर्जाको नाममा बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने परिपाटी रहेको बैंकरमात्र होइन, राष्ट्र बैंकका अधिकारीहरू समेत राम्रै जानकार छन् । केन्द्रिय बैंकको तथ्यांकले यस्ता कर्जाको बृद्धिदर पनि निकै उच्च रहेको देखाएको छ । अझ यस्तो ऋण कृषि कर्जाको रुपमा गणना हुनेगरी सस्तो ब्याजमा लिने प्रबृत्ती पनि बढेको बैंकर बताउँछन् ।

राष्ट्र बैंकका अनुसार गएको साउनदेखि वैशाखसम्मको अवधिमा आवधिक कर्जा २४.६ प्रतिशत, ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशत र डिमाण्ड तथा चालू पूँजी कर्जा २०.८ प्रतिशत बढेको छ । यसबाहेक आयात ब्यापारमा पनि बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी भारी मात्रामा बढाएका छन् ।

यो १० महिनामा अघिल्लो वर्षभन्दा ४६.५ प्रतिशत बढी कर्जा आयातमा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । आयातमा बढी पैसा बाहिरिँदा नेपाली बजारमा तरलताको समस्या देखिनसक्ने जोखिम बढेको राष्ट्र बैंकका अधिकारी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्