राष्ट्र बैंकको नाममा नक्कलि फेसबुक खाता बनाउनेलाई साइबर अपराधको मुद्दा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले फेसबुकमा आफ्नो नाममा फेक खाता खोलेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको छ । नेपाल राष्ट्र बैंकको आधिकारिक रुपमा सामाजिक सञ्जाल फेसबुक पेज नभएको र फेक आइडी बनाएर भ्रामक सूचना पोष्ट गरेको भन्दै उजुरी दर्ता गरेको हो ।
फेसबुकमार्फत् केन्द्रीय बैंकको पेज बनाएको र सोही पेजमार्फत् रकम संकलनका लागि सर्वसाधारणलाई आग्रह गरिएको भेटिएपछि सम्बन्धित व्यक्ति उपर साइबर अपराध सम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै उजुरी दर्ता गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै आफूहरुको कुनै आधिकारिक फेसबुक एकाउन्ट नभएको बताएका छन् । सामाजिक सञ्जालमा राष्ट्र बैंकको नाममा खुलेका सबै नक्कली अकाउन्ट बन्द गर्न पनि उनले आग्रह गरेका छन् ।
राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले आफ्नो कुनै फेसबुक एकाउन्ट नभएको स्पष्ट पारेको छ । राष्ट्र बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना तथा जानकारी पोष्ट गरेकाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार हालसम्म बैंकको कुनैपनि आधिकारिक फेसबुक पेज नरहेको र कुनैपनि सूचना फेसबुकमार्फत सार्वजनिक गरिएको छैन् ।