बैंकमा ब्याजदर अन्तर घटेको घट्यै, आक्रामक लगानीमा थपिँदै प्रतिस्पर्धा « Arthapath.com
२० श्रावण २०७८, बुधबार

बैंकमा ब्याजदर अन्तर घटेको घट्यै, आक्रामक लगानीमा थपिँदै प्रतिस्पर्धा



काठमाडौं । बैंकहरूले लिने र दिने ब्याजदरको अन्तर (स्प्रेड) भारी मात्रामा घटाएका छन् । नेपाल राष्ट्र बैंकले यस्तो ब्याजदर अन्तर ४.४ प्रतिशतसम्म राख्न सक्ने सुविधा दिए पनि अहिले अधिकांश बैंकको यस्तो ब्याजदर अन्तर ३ प्रतिशत हाराहारीमा आएको छ ।

बैंकहरूले ठूला कर्पोरेट ऋणीलाई निकै सस्तोमा ऋण दिन थालेपछि ब्याजदरअन्तर कम भएको हो । मुद्दति निक्षेपको ब्याजदर ७ देखि ८ प्रतिशतमा राखेका बैंकहरूले त्यही दरमा ऋण दिन थालेका छन् । यसले उनीहरूलाई सस्तो ब्याजमा लिएको बचत तथा कल निक्षेपको पैसाबाट हिसाम मिलान गर्न सजिलो भएको छ ।

‘तरलता पर्याप्त भएको अवस्थामा राष्ट्र बैंकले नियामकीय अंकुश लगाउनै नपर्दो रहेछ,’ नेपाल बैंकर्स संघका अध्यक्ष एवम् सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन् । अहिले बैंकहरू राष्ट्र बैंकले दिएको सुविधाभन्दा निकै कम नाफामै प्रतिस्पर्धात्मक लगानी विस्तार गरिरहेका छन् । यही कारण ब्याजदर अन्तर तल्लो तहमा झरेको हो ।

अर्कातिर पछिल्लो समय बैंकबीच आक्रामक विस्तारको प्रतिस्पर्धा पुनः बढ्न थालेको छ । बैंकरहरूका अनुसार अर्बैं रुपैयाँ कर्जा एउटा बैंकबाट लिएर अर्को बैंकमा तिर्ने अभ्यास पनि चलेको छ । अर्कातिर एउटा बैंकसँग ऋण लिएर जग्गा किन्ने र अर्को बैंकमा त्यही जग्गा बढी मूल्यांकनमा धितो राख्ने परिपाटी पनि बढेको छ ।

यस्ता कारणले वित्तीय प्रणाली जोखिमपूर्ण बन्दै गएको भन्दै राष्ट्र बैंकले गत साता असल भनिएको कर्जामा पनि १.३ प्रतिशत जोखिमबापतको व्यवस्था गर्नुपर्ने कानूनी प्रबन्ध गरेको छ । कतिपय बैंकरले यो व्यवस्थाको खुलेर स्वागत गरेका छन् । एक बैंकर भन्छन्, ‘बजारमा गलत अभ्यासहरू भएका छन् । त्यसबाट हाम्रो बैंक पनि प्रभावित छ र अरु सबैजसो बैंक प्रभावित छन् ।’

एक दशकअघि नेपालमा आक्रामक विस्तार गर्ने बैंकिङ अभ्यास नेपाल इन्भेस्टमेण्ट बैंकले गर्दै आएको थियो । उसले ठूला आयातकर्तालाई द्रुतमार्गबाट कर्जा पास गर्ने र चाँडो ऋण दिने गर्यो । पछि एनआईसी एसिया बैंकले यसलाई नयाँ ढंगले प्रयोगमा ल्यायो । उसले ठूला कर्पोरेट ऋणी नभइ सानासाना ऋणीलाई अरु बैंकलेभन्दा ज्यादा कर्जा दिने अभ्यास गर्न थाल्यो ।

यस्तो परिपाटीले एनआईसी पछिल्लो पुस्ताको सबैभन्दा आक्रामक बजार विस्तार गर्ने ठूलो बैंक बन्न पुग्यो । अब इन्भेष्टमेण्ट र नबीलजस्ता पुराना बैंकलाई जोखिम बढेको छ । उता मारबाडी समुदायले नै सञ्चालन गरेको अर्को बैंक एनएमबीले पनि आक्रामक विस्तार गरिरहेको छ ।

यस्तो परिवेशमा सिभिलजस्ता साना बैंक पनि अव द्रुत विस्तारमा लागेका छन् । फलस्वरुप सिंगो वित्तीय प्रणाली नै अब आक्रामक विस्तारको प्रतिस्पर्धामा उत्रिएको छ । ‘केही बैंकबाहेक सबैजसो संस्थाहरू अब एनआईसीकै रफ्तारमा कुद्ने प्रयास गरिरहेका छन्,’ एक बैंकर भन्छन् । यस्तो तीव्र प्रतिस्पर्धाले अहिले बैंकहरू ज्यादै कम नाफा राखेर पनि ऋण विस्तारमा अग्रसर भएको उनले बताए ।

नेपाल इन्भेस्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले पनि अहिले ब्याजदर अन्तर निकै कम भएको बताएका छन् । यसको लाभ बैंकहरूले बढी कर्जा प्रवाह गरेरमात्रै लिन सक्ने उनले बताए । नयाँ आर्थिक वर्ष सुरु भएसँगै बैंकहरू आक्रामक कर्जा विस्तारमा लागेका छन् ।

यस्तो बेला बैंकहरूले सस्तो ब्याजदरमा गाडी किन्न ऋण दिने योजनाहरू अघि सारिरहेका छन् । गाडी किन्न अधिकांश बैंकले दिने ऋणको ब्याजदर निक्षेपकर्ताले पाउने ब्याजकै हाराहारी छ ।

ठूला ऋणीलाई मुद्दति निक्षेपकै ब्याजदरमा ऋण प्रवाह हुँदा बैंकहरूको कर्जा भने बढेको छ । ऋणको ब्याजदर सस्तो भएपछि बैंकबाट सस्तोमा ऋण लिएर शेयर बजार तथा घरजग्गामात्र होइन, सहकारीलगायत अनौपचारिक क्षेत्रमा पैसा लगानी गर्ने परिपाटी पनि बढेको छ । यही कारण अहिले बजारमा नगद प्रवाह निकै बढेको बैंकर बताउँछन् ।

गएको सोमबारसम्म बैंकहरूले ४६ खर्ब ८४ अर्ब निक्षेप संकलन गरेका छन् । त्यसमध्ये ४१ खर्ब ४७ अर्ब बाणिज्य बैंकमा मात्रै जम्मा भएको छ । कुल ४१ खर्ब ७१ अर्ब कर्जामध्ये बाणिज्य बैंकले ३७ खर्ब २१ अर्ब ऋण प्रवाह गरेका छन् । यस दिन बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ७६.९१ प्रतिशत पुगेको छ । जुन ८५ प्रतिशतसम्म पुर्याउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्