कुन हो १ नम्बर बैंक ?

काठमाडौं । हिजोसम्म २७ मध्ये २१ बाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नबील, ग्लोबल आईएमई, सिद्धार्थ, सनराइज, नेपाल एसबीआई र सेञ्चुरी बैंकबाहेकले वित्तीय विवरण प्रकाशन गरिसकेका छन् ।
वित्तीय विवरण प्रकाशन गरेका यी २१ बैंकको तथ्यांकलाई आधार मानेर ‘लिडिङ बैंक’ अर्थात् १ नम्बर संस्था कुन हो भनेर हामीले यहाँ चर्चा गर्दै छौं । बाँकी ६ संस्थाको वित्तीय विवरण आएपछि यो तथ्यांकमा आंशिक परिवर्तन हुन सक्छ ।
निक्षेप
ग्राहकसँग लिने निक्षेपको तथ्यांकमा गत पुसदेखि एनआईसी एसिया बैंक १ नम्बरमा उक्लिएको छ । एक वर्ष अघिसम्म तेस्रो नम्बरमा रहेको एनआईसी एसिया असोज मसान्तसम्म दोस्रो नम्बरमा उक्लिएको थियो । एनआईसीले हरेक तीन महिनामा एक स्थान उक्लिएर पहिलो नम्बरमा पुगेको हो ।
गएको असार मसान्तसम्म एनआईसी एसियासँग २ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप छ । उसले पछिल्लो एक वर्षमा मात्रै ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप थपेको छ । यो रकम भनेको स्ट्याण्डर्ड चार्टर्ड वा नेपाल बंगलादेश बैंकसँग भएको कुल निक्षेपको बराबर हो । एनआईसीपछि राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेण्ट, प्रभू र एनएमबी बैंक ठूला ५ मा पर्छन् ।
कर्जा
निक्षेपसँगै कर्जा लगानीमा पनि एनआईसी एसिया नै पहिलो बैंक बनेको छ । यो बैंक एक वर्षअघि कर्जाका आधारमा दोस्रो थियो भने गत आर्थिक वर्षको पहिलो त्रैमासबाटै नम्बर १ बैंक बनेको छ । एनआईसीले यो एक वर्षमा ९० अर्ब २२ करोड ऋण विस्तार गरेको छ ।
यो रकम सेञ्चुरी, सिभिल, एनबी र स्ट्याण्डर्डचार्टर्ड बैंकको कुल कर्जा लगानीभन्दा पनि बढी हो । गत असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ११ करोड कर्जा विस्तार गरेको एनआईसी पहिलो नम्बरमा छ । त्यसपछि राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेण्ट, एनएमबी र कृषि विकास बैंक ठूला ५ मा परेका छन् ।
शाखा
शाखा संख्याको हिसाबले पनि एनआईसी एसिया सबै भन्दा ठूलो बैंक हो । एनआईसीसँग ३५३ शाखा छन् । दोस्रो स्थानमा भएको ग्लोबल आईएमईसँग २७२ शाखा छन् । २६३ शाखा रहेको कृषि विकास तेस्रो र २५५ शाखा रहेको राष्ट्रिय बाणिज्य बैंक चौंथो स्थानमा छ । २१४ शाखा रहेको प्रभू पाँचौं ठूलो बैंक बनेको छ ।
तर प्रतिशाखा कारोबारका आधारमा भने स्ट्याण्डर्डचार्टर्ड सबैभन्दा अघि छ । जम्मा १२ वटामात्रै शाखा रहेको यो बैंकले प्रतिशाखा ५ अर्ब ९५ करोडभन्दा बढी कर्जा लगानी गरेको छ । त्यसपछि हिमालय, नेपाल इन्भेष्टमेण्ट, सानिमा र एभरेस्ट बैंक प्रतिशाखा कारोबारका हिसाबले बढी प्रभावकारी देखिएका छन् ।
सम्पत्ती
२७ बाणिज्य बैंकमध्ये कुल सम्पत्तीका आधारमा पनि एनआईसी एसिया नै पहिलो नम्बरमा छ । ऊसँग गत असार मसान्तसम्म ३ खर्ब ४६ अर्ब हाराहारी सम्पत्ती छ । सम्पत्तीका हिसाबले एनआईसीपछि राष्ट्रिय बाणिज्य बैंक, एनएमबी, नेपाल इन्भेष्टमेण्ट र नेपाल बैंक ठूला ५ मा पर्छन् ।
पूँजी
बाणिज्य बैंकहरुमा पूँजीका आधारमा भने मुलुककै पहिलो बैंक नेपाल बैंक नम्बर १ कै अवस्थामा कायम छ । ऊसँग ३३ अर्ब २६ करोड रुपैयाँ हाराहारी सम्पत्ती छ । त्यसपछि नेपाल इन्भेण्टमेण्टसँग ३२ अर्ब २७ करोड पूँजीसहित दोस्रो नम्बरमा छ । कृषि विकास, राष्ट्रिय बाणिज्य र एनएमबी ठूला ५ बैंकमा पर्छन् ।
नाफा
गत वर्ष सर्वाधिक नाफा कमाउने बैंकको सूचीमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक पहिलो नम्बरमा आएको छ । अघिल्लो असार मसान्तमा पनि पहिलो नम्बरमा रहेको यो बैंक गत असोज मसान्तमा आउँदा छैटौं नम्बरमा झरेको थियो ।
त्यसपछि कृषि विकास, नेपाल इन्भेष्टमेण्ट, प्राइम र एनआईसी एसिया बढी नाफा आर्जन गर्ने ५ बैंकको सूचीमा छन् । वितरणयोग्य मुनाफामा भने राष्ट्रिय बाणिज्य बैंकपछि नेपाल बैंक, प्राइम, एभरेष्ट र एनएमबी उच्च नाफा आर्जन गर्नेमा पर्छन् ।
आधार दर
सबैभन्दा सस्तो लागतको पैसा चलाउने बैंकको सूचीमा पनि राष्ट्रिय बाणिज्य बैंक नै पहिलो हो । उसको अहिले पनि आधार दर ५.४१ प्रतिशत छ । त्यसपछि स्ट्याण्डर्डचार्टर्ड, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट र एभरेस्ट बैंक सस्तो लागतमा पैसा चलाउने बैंकको रुपमा रहेका छन् ।
प्रतिफल दर
बैंकहरूले शेयरधनिलाई दिने प्रतिफलको आँकडामा भने एनआईसी एसिया नै सबैभन्दा उत्कृष्ट भएको छ । एनआईसीपछि उच्च प्रतिफल दिने सूचीमा सानिमा, हिमालयन, नेपाल बंगलादेश र प्राइम बैंक पर्छन् । सिभिल बैंकले साढे ५ प्रतिशत प्रतिफल दिनसक्ने सामथ्र्य राख्दा यी बैंकहरुले १५ प्रतिशतभन्दा बढी प्रतिफल दिनसक्ने भएका छन् ।