साना ऋणको प्रिमियम घटाउने मौद्रिक नीतिको व्यवस्थाले बैंकहरूको नाफामा असर पार्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ करोड वा त्योभन्दा कम ऋण उपयोग गर्ने ऋणीलाई २ प्रतिशत विन्दुभन्दा ज्यादा प्रिमियम राख्न नपाइने व्यवस्था गरेपछि बैंकहरुको नाफामा यसले ठूलै असर गर्ने भएको छ । बैंकरहरुका अनुसार सानो रकमको कर्जामा सामान्यतया बढी प्रिमियम जोडिएको हुन्छ ।
तर राष्ट्र बैंकले तिनै कर्जामा प्रिमियमको सीमा लगाइदिएपछि खासगरी ठूला बैंकहरुको नाफामा असर पर्ने देखिएको हो । ठूला बैंकहरुले सस्तो ब्याजदरमा निक्षेप लिएर पैसा उठाइरहेका हुन्छन् । यहीकारण उनीहरुले बढी प्रिमियम राखेका हुन्छन् । सिभिल, सेञ्चुरी, कुमारीजस्ता तुलनात्मक रुपमा साना बैंकले यत्तिकै पनि निक्षेपकर्तालाई बढी ब्याज तिरिरहनु परेको हुन्छ ।
सानो बैंकको कारोबार पनि कम हुने भएकाले उनीहरुको आधारदर नै उच्च हुन्छ । यही कारण साना बैंकले बढी प्रिमियम राख्न सक्दैनन् । ‘धेरै प्रिमियम जोड्दा साना बैंकले ऋण लगानी नै गर्न नसक्ने अवस्था आउँछ,’ एक बैंकर भन्छन्, ‘तर ठूला बैंकले भने सस्तोमा लिएको पैसा महँगोमा लगानी गर्दा पनि प्रतिस्पर्धी हुन्छ ।’ यही कारण ठूला बैंकलाई उक्त नीतिले बढी असर पार्ने ती बैंकरले बताए ।
उदाहरणका लागि राष्ट्रिय बाणिज्य बैंकले परिवत्र्य ब्याजदरमा आधारित कर्जामा ४ प्रतिशत विन्दुसम्म प्रिमियम जोड्दै आएको छ । असारमा ५.४१ प्रतिशत आधारदर रहेको यो बैंकले स्थिर ब्याजदरका कर्जामा ११ प्रतिशतसम्म ब्याज लिन्छ । यो आधारदरको दोब्बर भन्दा पनि बढी हो ।
कृषि विकास बैंकले अधिकांश कर्जामा ५ प्रतिशत विन्दुसम्म प्रिमियम थप्ने गरेको छ । नबील बैंकले ७ प्रतिशतसम्म विन्दुसम्म प्रिमियम थपेर लिने गरेको छ । फोन कर्जामा त नबीलले ९ प्रतिशतसम्म प्रिमियम थप्ने गरी ब्याजदर प्रकाशन गरेको छ ।
एनआईसी एसिया बैंकले सबैजसो कर्जामा ६ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेको छ । स्थिर ब्याजदरमा त ६ प्रतिशत नै प्रिमियम जोढिएको ब्याजदर बैंकले प्रकाशन गरेको छ । यी बैंकहरु पछिल्लो समय ससाना रकमको कर्जा दिएर ब्यापार बढाउन प्रयत्नरत छन् । उनीहरुले सस्तोमा निक्षेप लिएर महँगोमा कर्जा दिइरहेका छन् । तर सिभिल बैंकले १ प्रतिशत विन्दुको साँघुरो प्रिमियममै पनि ऋण दिइरहेको छ ।