राष्ट्र बैंकका गभर्नर १२ दिनपछि कार्यालय फर्किए, कोभीडको विरामीमाथि कति आक्षेप ? « Arthapath.com
१८ आश्विन २०७८, सोमबार

राष्ट्र बैंकका गभर्नर १२ दिनपछि कार्यालय फर्किए, कोभीडको विरामीमाथि कति आक्षेप ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोभीड संक्रमण भएपछि १२ दिन बिदामा बसेर सोमबारबाट कार्यालय फर्किएका छन् । गभर्नरको कार्यालयका अधिकारीहरुले जनाए अनुसार उनी आज विहानै कार्यालयमा हाजिर भए पनि रोकिएर बसेका फाइल हेरेपछि दिउँसै घर फर्किएका थिए ।

गत ५ असोजमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी ६ गतेबाट विदा बसेका थिए । गभर्नर विदामा बसेको खबर पुष्टि भए लगत्तै बजारमा विभिन्न आक्षेप र हल्ला चलेका थिए । अर्थमन्त्री जनार्दन शर्मासँग मौद्रिक नीतिका विषयमा मतभेद भएको भन्ने खबरहरु आइरहेका बेला एक्कासि गभर्नर बिदामा बसेको खबर आएको थियो ।

सोही घटनालाई जोडेर अर्थ मन्त्रालयले गभर्नरलाई ‘राजिनामा दिन दबाब दिएका कारण’ उनी बिदामा बसेको खबरहरु सम्प्रेषण भए । अर्थात् सरकार गभर्नरलाई बर्खास्त गर्न तत्पर रहेको आरोप लगाइएको थियो । शेयरको आन्तरिक सूचनामा आधारित कारोबार गरेको भन्दै नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डका प्रमुखहरुलाई हटाउने तयारी थालेको बेला गभर्नर विदा बसेपछि यस्तो ‘लख काटेको’ हुनसक्छ ।

अर्कातिर अहिले वित्तीय प्रणालीमा तरलता अभाव भइरहेका बेला अजेयराज सुमार्गी लगायतले विदेशबाट ठूलो रकम भित्र्याउने प्रयास गरेपछि उनी विबादमा पर्ने डरले बिदा बसेको हल्ला पनि गरिए । केही संचारमाध्यममा समेत यस खाले समाचारहरु सम्प्रेषण भए ।

तर बैंकरहरु भने यी दुबै हल्लामा विस्वस्त थिएनन् । नबील बैंकका एक अधिकारीले भने, ‘गभर्नरलाई हटाउन कसको औकात ?’ उनले विद्यमान कानून अनुसार आफूलाई लाग्ने वित्तिकै कुनै पनि सरकारले गभर्नरलाई हटाउन नसक्ने बताए । अर्का बैंकरले विदेशबाट कसैको पैसा ल्याउन बाटो खोलिदिएको भन्ने हल्लाको पनि अनौपचारिक खण्डन गरे ।

‘गभर्नरले डेपुटी गभर्नर नीलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी तोकेका कारण विदेशबाट पैसा ल्याउन खोजेको भन्ने हल्ला विस्वसनीय देखिँदैन’, ती बैंकरले भने । नीलम पुर्वप्रधानमन्त्री केपी ओलीकी श्रीमती राधिका शाक्यकी मिल्ने साथि हुन् । धेरैले उनी डेपुटी गभर्नर बन्नुमा यही नाता प्रभावकारी रहेको दाबी गरेका छन् ।

राष्ट्र बैंकमा ढुंगानाको कार्यशैली र छबी ‘टाक्कटुक्क मिलाउने’ नभएर ‘सशक्त नियमन’ गर्ने खालको छ । यही कारण पनि उनलाई कार्यभार सुम्पिएर बिदा बसेका गभर्नरले आफू पञ्छिएर पैसा ल्याउने बाटो दिएको भन्ने आरोपप्रति बैंकरहरु समहत नभएका हुन् ।

तर गभर्नर अधिकारी भने कोरोना संक्रमण पुष्टि भएको १४ औं दिनमा कार्यालय हाजिर भएका छन् । सरकारले संक्रमण पुष्टि भएको १० दिनसम्म आइसोलेशनमा बस्न भनेको छ । कतिपय मुलुकमा भने अहिले पनि १४ दिनको प्रावधान कायमै छ ।


प्रतिक्रिया दिनुहोस्