बैंक कति चाहिन्छ अध्ययन हुँदैछ, लघुवित्त १०/१५ ओटामा ल्याउँछौँ : राष्ट्र बैंक सञ्चालक रेग्मी « Arthapath.com
२३ आश्विन २०७८, शनिबार

बैंक कति चाहिन्छ अध्ययन हुँदैछ, लघुवित्त १०/१५ ओटामा ल्याउँछौँ : राष्ट्र बैंक सञ्चालक रेग्मी



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नेपालमा कति बैङ्कको सङ्ख्या चाहिने अध्ययन गरिरहेको छ । वित्तीय पहुँचको लागी बैङ्क वित्तीय संस्था धेरै खुलेको भए पनि विस्तार घटाउँदै लैजाने नीति राष्ट्र बैङ्कले लिएको छ । 

नेपाल राष्ट्र बैंकले क, ख, ग र घ वर्गका बैङ्क वित्तीय संस्थाको सङ्ख्या कति हुनुपर्ने हो भन्ने विषयमा अध्ययन गरिरहेको सञ्चालक रामजी रेग्मीले बताएका छन् । शनिवार एक कार्यक्रममा बोल्दै रेग्मीले भने ‘विगतमा नेपालको लागी कति वित्तीय संस्था चाहिन्छ भन्ने अध्ययन नभई जथाभाबी लाइसेन्स बाँड्ने काम भयो ।’ ‘अव यसलाई कन्ट्रोल गर्न राष्ट्र बैङ्क लागेको छ’ रेग्मीले भने । 

नेपालमा बैङ्क कति चाहिन्छ भन्ने बारेमा अध्ययन अन्तिम चरणमा पुगेको र यसको रिपोर्ट केही दिनमै सार्वजनिक हुने रेग्मीले बताए । उनले नेपालमा लघुवित्तको सङ्ख्या धेरै भएकाले विकृति आएको बताएका छन् । ‘अहिले नेपालमा ७० ओटा लघुवित्त छन् त्यसलाई १०/१५ ओटामा झार्नुपर्छ’ रेग्मीले भने । 

नेपालमा बैङ्क वित्तीय संस्थाको सङ्ख्या कति चाहिने हो नबुझी लाइसेन्स बाँड्ने काम भयो, अव लघुवित्तको सङ्ख्या घटाउने बेला भएको रेग्मीले बताए । लघुवित्तको डुब्लिकेसन बढी भएको भन्दै एउटाको कष्टमर अर्कोले तान्ने प्रवृत्ति धेरै बढेको रेग्मीले बताए । १०५ ओटा लघुवित्तको सङ्ख्या घटेर ७० मा आइपुगेको छ । 

त्यस्तै नेपाल राष्ट्र बैङ्कका निर्देशक राजनविक्रम थापाले सहरी क्षेत्रमा पनि लघुवित्तले महिलालाई उद्यमी बनाउनुपर्ने बताए । थापाले राष्ट्र बैङ्कले लाइसेन्स दिएका संस्थामा संस्थागत सुशासनको समस्या आए हस्तक्षेप गर्ने बताए । उनले लघुवित्तको व्याज बढी भए पनि विना धितो पाइने र तत्काल लगानी गर्ने पाइने सुविधा रहेको बताए ।   


प्रतिक्रिया दिनुहोस्