खर्च गरेको आधाभन्दा बढी पैसा आफ्नै पोल्टामा फर्काउँदै सरकार, पैसा नपाएर बैंकमा हाहाकार « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

खर्च गरेको आधाभन्दा बढी पैसा आफ्नै पोल्टामा फर्काउँदै सरकार, पैसा नपाएर बैंकमा हाहाकार



काठमाडौं । अहिले बैंकहरु कर्जा लगानी गर्ने पैसा नपाएर धमाधम ब्याज बढाउन थालेका छन् । कोरोना महामारीपछि पुनरुत्थानको बाटोमा लागेको अर्थतन्त्र विस्तारै पैसाको अभावमा सुस्ताउने संकेत गरेको छ । बैंकहरु पैसाको हाहाकार आउने अवस्थातर्फ संकेत गर्न थालेका छन् ।

नेपालजस्तो ज्यादै सानो र आयातमा निर्भर अर्थतन्त्र भएको मुलुकका लागि बजारमा पैसा पाउने मूल बाटो भनेको सरकारी खर्च हो । सरकारले विकास निर्माणमा खर्च गर्छ । कर्मचारीलाई तलव दिन्छ । सामाजिक सुरक्षा छातामा भएकाहरुलाई सामाजिक सुरक्षा दिन्छ । यसरी विभिन्न बाटाबाट सरकारी ढुकुटीको पैसा बजारमा आउँछ ।

यही पैसाका आधारमा बैंकहरुले निक्षेप बढाउँछन् । निक्षेप बढेपछि बैंकले ऋण दिने क्षमता बढ्छ र धेरै ऋण दिन थाल्छन् । फलस्वरुप घरजग्गा, खानपान र लुगाफाटोदेखि निर्माण सामग्री र सबै उपभोग्य वस्तुको मूल्य बढ्न थाल्छ । उत्पादन पनि बढ्छ । धेरैलो रोजगारी पाउँछन् । केही मान्छे नयाँ उद्यमी बनेर निस्कन्छन् । अर्थतन्त्र गतिशील हुन्छ र आर्थिक बृद्धि पनि बढ्छ ।

तर अहिले हाम्रो देशमा बैंकहरु पैसा नभएर समस्यामा पर्न थाल्दा पनि यो सबै प्रणाली चुस्त रुपमा चल्न सकेको छैन । आजैमात्र अर्थमन्त्री जनार्दन शर्माले एकै दिनमा दुई सिफ्ट काम गरेर बजेट खर्च बढाउन प्रस्ताव गरे । यसको अर्थ सरकारले न त चाहेजति खर्च गर्न सकेको छ, न चाहिएको जति ।

यो महिनाको कुरा गर्ने हो भने सरकारले कर्मचारीको तलबभत्ता र तिनको दशैं भत्तासमेत जोडेर २८ अर्ब रुपैयाँ खर्च गरेको छ । त्यस्तै शिक्षकहरुको ४ महिना (दशैं भत्ता बापतको १ महिनासमेत)को तलवमा २६ अर्ब खर्चेको छ । सामाजिक सुरक्षाबापत थप ८ अर्ब खर्चिएको छ । यसरी ६२ अर्ब रुपैयाँ चालू खाताबाट बजारमा पठाएको छ । पूँजीगत खर्चको आकार त नगन्य नै छ ।

तर असोज नसकिँदै अर्थात् भोलि नै सरकारले ३२ देखि ४० अर्ब रुपैयाँ राजश्वमार्फत् बजारबाट तान्ने अवस्था रहेको एक बैंकर बताउँछन् । ‘सरकारले खर्च गरेको बजेटको ६० प्रतिशतभन्दा बढी पैसा राजश्वमार्फत् आफ्नै ढुकुटीमा फर्काइरहेको छ,’ ती बैंकरले भने, ‘अर्कातिर आयात बढेको बढ्यै हुँदा मुलुकमा भएको पैसा पनि देश बाहिर पुगिरहेको छ ।’

यस्तो परिस्थितिले अहिलेको तरलता अभावको समस्या अझै बढ्दै जानसक्ने बैंकर बताउँछन् । यदी यस्तो बेलामा बाहिरबाट ठूलो रकम भित्र्याउन सकिएन भने यो समस्या अझै बढ्दै जाने बैंकरको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्