यसरी भयो ब्याजदर नबढाउने भद्र सहमतिको उलङ्घन « Arthapath.com
३ कार्तिक २०७८, बुधबार

यसरी भयो ब्याजदर नबढाउने भद्र सहमतिको उलङ्घन



काठमाडौँ । असोज ३१ गते बिहानै नेपाल बैंकर्स सङ्घको बैठक आह्वान गरिएको थियो । पहिलो त्रैमासको अन्तिम दिन बैंकरहरु उसै पनि व्यस्त थिए । बैठकमा कार्यसमितिका प्रायः सबै पदाधिकारी उपस्थित भए । बैठकमा यसअघि ब्याज बढाएर पछिल्लो समय एग्रसिभ बनेको नविल बैङ्क र अघिल्लो तरलताको समयमा भद्र सहमति उलङ्घन गरेको एनआईसि एसिया बैङ्कको चर्चा चल्यो । 

बैठकमा बजारमा तरलताको सङ्कट बढेको भन्दै केही बैंकरहरुले भद्र सहमति गरेर जाने प्रस्ताव राखेका थिए । बैठकमा ब्याजदरको सिलिङ नै चाहिँ नतोक्ने तर एक अङ्कभित्रै बस्ने बारेमा अनौपचारिक सहमति भएको थियो । त्यसको भोलिपल्टै आश्चर्यलाग्दो ब्याजदर पत्रपत्रिकामा सार्वजनिक भएपछि बैंकर्स संघमात्र होइन राष्ट्र बैङ्कको समेत ध्यान खिचिएको छ । 

बैठकमा उपस्थित हिमालय बैङ्कका सीईओ अशोक राणाले आफ्नो डिपोजिट सुरक्षित गर्नको लागी भएपछि ब्याजदर बढाउनुपर्ने अवस्था आएको बताएका थिए । उनले ब्याजदर बढाउने सङ्केत गरे पनि कति बढाउने भन्ने खुलाएका थिएनन् । 

सोमबार एक्कासि हिमालयन बैङ्कले फिक्स निक्षेपमा ११.६७ प्रतिसतको ब्याजदर सार्वजनिक गरेपछि बैंकर सङ्घको भद्र सहमति प्रति शङ्का उब्जियो । हिमालयनपछि एनआईसिले दोस्रो ११.१० को ब्याजदर प्रकाशित गरेको छ । यसअघि तरलताको बेला तारो बन्दै आएको एनआईसि एसियालाई भन्ने बाटै रहेन ।

बैंकर्स सङ्घले गरेको भद्र सहमति उलङ्घन गर्ने बैङ्कहरूमा हिमालयन, एनआईसि एसिया, बैङ्क अफ काठमाडौँ, लक्ष्मी, एनबी, सिद्धार्थ र एनसिसि बैङ्क रहेका छन् । उता केही बैङ्कले ब्याजदर घटाएका छन् भने केही स्थिर राखेका छन् । 

बैकर्स सङ्घको बैठकमै उपस्थित भएर धेरै ब्याज बढाउने हिमालयन र एनसिसि बैङ्कलाई के बाध्यता प¥यो सो बारेमा सोध्ने तयारीमा बैकर्स सङ्घ रहेको बैठकमा सहभागी एक बैंकरले बताए । 

कुनको ब्याजदर स्थिर ? 

नबिल, नेपाल इन्भेस्टमेन्ट, प्रभु, स्टाडर्ड चार्टर्ड बैङ्कले यसअघिको ब्याजदर कायम गरेका छन् । अरू बैङ्कले बढाए पनि यी बैङ्कले भदौ १ कै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

कसले कति घटाए ? 

उता सानिमा बैङ्क र सनराइज बैङ्कले भने ब्याजदर घटाएका छन् । असोजमा व्यापक बढाएको सनराइज बैङ्कले कात्तिकमा ब्याज दर घटाएको छ । सनराइजले १०.०७ प्रतिशतको मुद्दतीको ब्याज ९ प्रतिशतमा झारेको छ । त्यस्तै सानिमा बैङ्कले ९.५१ प्रतिशतको ब्याजलाई १ प्रतिशत घटाएर ८.५१ प्रतिशतमा ल्याएको छ । सानिमा बैङ्कका सीईओ भुवन दाहाल बैंकर्स सङ्घको अध्यक्षसमेत हुन् । 


प्रतिक्रिया दिनुहोस्