गायक अमात्यको नाममा कसले लियो कुमारी बैंकबाट १९ करोड ऋण ?

काठमाडौं । कुमारी बैंकमा नक्कली जग्गा धितो राखेर १९ करोड रुपैयाँ ऋण लिइएको बारे अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । गायक योगेश्वर अमात्यको जग्गा रहेको कम्पनी बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा कुमारी बैंकले कर्जा स्वीकृत गरेर १९ करोड रुपैयाँ बैंक खातामा ट्रान्स्फर गरेको थियो ।
योगेश्वर अमात्यको जग्गा रहेको कम्पनी बिलुवाभूमि वन प्रा. लि.को बैंक खाता सिद्धार्थ बैंकमा थियो । डायनिल ट्रेडिङको नाममा स्वीकृत १९ करोड रुपैयाँ कर्जा बिलुवाभूमिको नाममा रहेको खातामा गएको र कागजात नक्कली भएको थाहा भएपछि कुमारी बैंकले उक्त १९ करोड सिद्धार्थ बैंकको सोही खाताबाट झिकेको अनुसन्धानमा खुलेको छ । सिद्धार्थमा रहेको बिलुवाभूमिको नाममा रहेका खाता नक्कली हो वा गायक अमात्यकै हो भन्ने कुराको पनि अनुसन्धान थालिएको छ ।
गायक अमात्यले उक्त खाता सञ्चालनको लागि एकजना व्यक्तिलाई अख्तियारी दिएको भन्ने कुरा बाहिर आएको छ । आफ्नो जग्गाको किर्ते गरेर अरुले नै कर्जा लिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएका अमात्यको बैंक खाता अख्तियारी प्राप्त व्यक्तिको मिलेमतोमा चलाइएको हो की होइन भन्ने विषयमा अनुसन्धान जारी छ ।
अर्थत् डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक एसके महर्जन र मुक्तिनाथ गौतमले कुमारी बैंकमा बुझाएको नक्कली कागजातको आधारमा सिद्धार्थ बैंकमा अर्को ‘फेक’ खाता खोलेका थिए भन्ने कुरा पनि बाहिर आएको छ ।
कुमारी बैंकको १९ करोड प्रकरणमा सिद्धार्थ बैंक पनि जोडिएकाले सीआईबीले सिद्धार्थ बैंकसँग पनि अनुसन्धान गरिरहेको छ । डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक एसके महर्जन र मुक्तिनाथ गौतमले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा वीरगञ्जमा रहेको १२ बिगाह १ कठ्ठा जग्गा किन्नको लागि कुमारी बैंकसाग गएको १५ असारमा ऋण मागेका थिए ।
महर्जन र गौतमले डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडले आफूहरु टेलिफोन सेवाप्रदायक कम्पनी एनसेलको सब–डिट्रीब्यूटर (उप–वितरक) भएको बताएका छन् । उनीहरुले आफ्नो वार्षिक कारोबार कोभिड अगाडि ३ अर्बको र कोभिडको समयमा १ अर्बको भएको कर्जा माग गरिएको निवेदनमा उल्लेख छ । यही आयस्रोत देखाएर उनीहरुले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको नाममा रहेको जग्गा किन्न लागेको निवेदनमा उल्लेख गरे ।
उक्त सम्पत्ती मूल्यांकन गर्दा ३८ करोड बराबरको रहेको पाइएको छ । राष्ट्र बैंकले घर जग्गा कर्जामा धितो मूल्यांकनको ५० प्रतिशत दिन पाइने व्यवस्था गरेको छ । यस अनुसार कर्जाका लागि निवेदन दिएको १६ औं दिन अर्थात् ३१ असारमा कुमारी बैंकको न्यूरोड शाखाबाट १९ करोड कर्जा स्वीकृत भएको देखिन्छ ।
बिक्रेता व्यक्ति वा संस्थाको नाममा निवेदकको स्वीकृत कर्जा पठाउने व्यवस्थाअनुसार नै कुमारी बैंकले सिद्धार्थ बैंकमा रहेको बिलुवाभूमि वन प्राइभेट लिमिटेडको खातामा साउन १५ गते १९ करोड रुपैयाँ पठायो । कर्जा जारी भएको १५–२० दिनपछि डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक महर्जन र गौतमले बिलुवाभूमि वन प्राइभेट लिमिटेडको सम्बन्धमा बुझाएका लालपुर्जा, राजिनामा पास, मालपोत रोक्का, चारकिल्ला र घरबाटो प्रमाणित किर्ते भएको कुरा बैंकलाई थाहा हुनआयो ।
यसरी किर्ते कागजातको आधारमा कर्जा लिएको थाहा भएपछि बैंकले डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक एसके महर्जन र मुक्तिनाथ गौतमलाई ताकेता गरी उक्त पैसा फिर्ता लियो । र, बैंक १९ करोड नोक्सान हुनबाट जोगियो ।
दोषी को ?
प्रारम्भिक अनुसन्धानमा किर्ते कागजात बुझाएर कर्जा लिएका डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक एसके महर्जन र मुक्तिनाथ गौतम दोषी देखिएका छन् । त्यस्तै, यो कागजात सही हो भनेर कर्जा दिनलाई प्रस्ताव गर्ने धितो मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया र कुमारी बैंकका बारा शाखाका लोन म्यानेजर सोनु ठाकुर दोषी देखिएका छन् ।
गायक योगेश्वर अमात्यले आफ्नो जग्गा राखेर अरु कसैले कर्जा लिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कात्तिक २ गते उजुरी दिएपछि सुरुमा लिखत सम्बन्धि कसुरमा अनुसन्धान थालिएको थियो । अनुसन्धानको क्रममा दोषी देखिएका डायनिल ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक एसके महर्जन र मुक्तिनाथ गौतम कात्तिक ४ गते पक्राउ परे ।
धितो मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया कात्तिक २२ गते पक्राउ परे भने त्यसपछि कुमारी बैंकका बारा शाखाका कर्मचारी सोनु ठाकुर पक्राउ परे । तर, किर्ते कागजातको आधारमा कर्जा गएको १९ करोड फिर्ता लिन सफल भएपनि यस प्रकरणमा अपराध भएको ठहर भयो । यही कारण अहिले सीआईबीको अनुसन्धान किर्ते कागजातको आधारमा १९ करोड रुपैयाँ कर्जा जारी हुँदा को–कसको संलग्नता थियो भन्नेतर्फ मोडिएको छ ।