निक्षेप खाता संख्या जनसंख्याको १२४ प्रतिशत पुग्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा जनसंख्याको १२४ प्रतिशत निक्षेप खाता संख्या पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप खाता संख्या ३ करोड ७७ लाख ७१ हजार रहेका छन् । यो हिसाबले नेपालको जनसंख्याको १२४ प्रतिशतले निक्षेप खाता संख्या पुगेको हो ।
आर्थिक बर्ष २०७८ को असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप खाता करोड ७७ लाख ७१ हजार पुगेका छन् । अघिल्लो आर्थिक बर्ष २०७७ को असार मसान्तसम्ममा ३ करोड २४ लाख ५४ हजार निक्षेप खाता संख्या रहेको थियो । हाल नेपालको जनसंख्या ३ करोड ५ लाख ४२ हजार ५०१ जना रहेका छन् । यो आधारमा हेर्ने हो भने जनसंख्याभन्दा बढी खाता संख्या पुगेका छन् ।
त्यस्तै, २०७८ को असार मसान्तसम्ममा ऋणीहरुको संख्या १७ लाख २ हजार रहेका छन् । गत बर्ष २०७७ को असार मसान्तसम्ममा यस्तो संख्या १५ लाख ४४ हजार रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा सञ्जाल विस्तार सँगै वित्तीय पहुँच बढ्दै गएको छ । २०७८ असारमसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको संख्या अघिल्लो वर्षको तुलनामा २२ ले घटेर १३२ पुगेको छ । त्यसैगरी २०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या अघिल्लो बर्षको तुलनामा ९.४० प्रतिशतले बृद्धि भएको छ । शाखामा निर्भर रहेको जनसंख्या अघिल्लो बर्षको तुलनामा ३,०७२ बाट ७.४२ प्रतिशतले घटेर २,८४४ कायम भएको छ । मर्जर तथा प्राप्तिका कारण “घ” वर्गका वित्तीय संस्थाहरूको संख्या घट्ने क्रममा रहेका छन भने शाखा विस्तारको क्रम निरन्तर भैरहेका कारण शाखाहरूको विस्तार ६२८ वटाले बृद्धि भई ४,६८५ वटा पुगेका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७८ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ४ हजार ७५३ वटा, विकास बैंकको शाखा १ हजार २३ वटा, वित्त कम्पनीको शाखा संख्या २२२ वटा र लघुवित्त वित्तीय संस्थाको शाखा संख्या ४ हजार ६८५ वटा गरी कूल १० हजार ६८३ वटा पुगेका छन् । राष्ट्र बैंकका अनुसार शाखारहित बैंकिङ्क केन्द्रको संख्या १ हजार ७०६ वटा रहेका छन् ।