मर्जरको तयारीमा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्कले गर्यो ३५ औँ साधारणसभा, चुक्ता पुँजी १८.३० अर्ब पुग्यो

काठमाडौं । हिमालयन बैङ्कसँग मर्जरको तयारीमा रहेको नेपाल इन्भेस्टमेन्ट बैङ्कको ३५ औँ साधारण सभा आज सम्पन्न भएको छ । बैङ्कले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्नो ३५ औँ वार्षिक साधारण सभा मङ्सिर १७ गते बैङ्कको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा सम्पन्न भएको छ ।
कोरोना महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रुपमा सम्पन्न गर्ने निर्णय गरिएको हो । साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा बैङ्कका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।
सभामा बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । बैङ्कले १२.६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैङ्कको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यस वर्ष बैङ्कले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैङ्कको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैङ्कको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैङ्कको निक्षेप गत आर्थिक वर्षको कुल १६८ अर्बबाट वृद्धि भई १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १४० अर्बबाट वृद्धि भई १६२ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैङ्कले ८८ शाखा, १३१ एटिएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व सङ्कलन काउन्टरहरू र ५८ शाखारहित बैङ्किङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैङ्क अफ द ईयर’ अवार्ड पाइसकेको यस बैङ्क अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनिबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘वेस्ट बैङ्क २०१८’ र ‘वेस्ट बैङ्क २०२१’ युरोमनि अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रटिङ एजेन्सी–नेपाल) ले बैङ्कलाई ‘ए’ वर्गको क्रेडिट रटिङ दिएको छ ।