मर्जरमा नबिल बैंक नै पहिलो रोजाई हुनेछ « Arthapath.com
२४ मंसिर २०७८, शुक्रबार

मर्जरमा नबिल बैंक नै पहिलो रोजाई हुनेछ



  • मौका मिल्यो भने फेरि बैंकिङ सेक्टरमै आउँछु ।
  • धितोपत्र बोर्ड पनि मेरो रुचीको क्षेत्र हो तर मैले चासो दिएको छैन ।
  • एक वर्षभित्र धेरै जग्गा बेच्दैछौ ।
  • एनबी समूहलाई सेयर किन्न नदिने कुरामा मेरो भूमिका छैन ।

ज्ञानेन्द्रप्रसाद ढुंगाना सीईओ नेपाल बंगलादेश बैंक लि.

के नेपाल बंगलादेश बैंक एक्लै चल्नै नसक्ने अवस्थामा पुगेको र मर्जरको आवश्यकता परेको हो ?

मर्जर समयको माग हो । ठूलो बैंक भइदिए व्यापार गर्न पनि सजिलो, ठूलो बैंक भैदिए रिक्स म्यानेज गर्न पनि सजिलो हुने भन्ने हो । बैंक एक्लै चल्नै सकेन भन्ने होइन, चल्न सक्छ । यस बैंकमा ४१ प्रतिशत सेयर बंगलादेशको आईएफसी बैंकको रहेको हुनाले उहाँहरूको निर्णय मुख्य हुन्छ । आईएफसी बैंकले एक्जिट हुने निर्णय गरिसकेको हुँदा भोलिको सेयर किन्ने मान्छेले बैंकलाई कसरी चलाउने, एक्लै लैजाने/चलाउने की कुनै अर्काे ठूलो बैंकसँग मर्जर गरे जाने भन्ने आईएफसी सेयर खरिद कर्ताको निर्णयमा भर पर्छ । त्यसमा हामी खुला छौँ, हामीभन्दा राम्रो बैंक पायो भने मर्ज तथा एक्वीजिशनमा जान पनि तयार छौँ । वा बैंकले म आफैं स्पेसिक प्रपोटीलाई लिएर अगाडी बढ्छु भन्न पनि सक्छ । त्यो अवस्थामा पनि बैंक रहेको छ । यो दुईवटा अप्सन खुला छन् । 

एनबि बैंकले धेरै जग्गा बेच्दैछ रे, हो ? 

मैले पनि तपाईँले भनेजस्तै कताकता समाचारमा पढेको हुँ । हामीले ऋणीबाट ऋण नतिरेर लिएका जग्गाहरू बैंकलाई चाहिएर किनेका सम्पत्ति होइनन्, ती हामीकहाँ ऋण उठाउने सिलसिलामा आएका जग्गाहरू राख्ने भन्ने हुँदैन । राष्ट्र बैंकको निर्देशनअनुसार पनि छिटोभन्दा छिटो जग्गा बिक्री गरिसक्नुपर्छ । हामीले सूचना नै जारी गरेका छौं । त्यसले हाम्रो नाफा बढ्ने हो । हामीले बेच्न खोजेको हो । 

मर्जरको हल्ला चलिरहेको बेलामा किन बेच्न खोजेको ? 

हामीले हाम्रो सम्पत्ति बेच्न खोजेको होइन । हामीले हेड अफिसको लागि किनेको जग्गा बेच्न खोजेको होइन । यी हाम्रा रिकभरिको प्रक्रिया हो । किनभने राष्ट्र बैंकको निर्देशनअनुसार पनि १ वर्षभित्रमा बेचिसक्नुपर्छ । त्यो सबै बिक्री हुन्छन् भन्ने पनि छैन । किन्ने मान्छेहरूले कतिमा बिड गर्छन्, त्यो हिसाबमा बिक्री हुन्छ । त्यसैले यसको मर्जरसँग कुनै सम्बन्ध नै छैन् । यो त बैंकको डे टू डे बिजनेश हो । 

बङ्गाली लगानीकर्ता फर्केर जाने तय भएको नै हो ? 

अहिलेसम्मको अवस्थामा बैंकको सञ्चालक समितिको प्रस्तावले त्यो निर्णय गराएर जानकारी गराएको छ । यो कुरा सत्य हो । 

कहिलेसम्म उनीहरूको सेयर बिक्री गर्ने प्रक्रिया टुंगिन्छ ? 

त्यो त भन्न सकिँदैन, किनभने सेयर बिक्री प्रक्रिया राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता अहिले भएका प्रमोटरलाई दिनुपर्छ । हामीले त्यो नोटिस (सूचना) जारी गर्यौ । उहाँहरूले आवेदन पनि दिएका छन् । तर, ती आवेदनहरू फिट एण्ड प्रपोटी टेष्टमा पास हुन सकेनन् । अब दोस्रो चरण भनेको बाह्य खरिदकर्तालाई बेच्ने हो । अब त्यो बिक्रीकर्ता र खरिदकर्ताको एग्रिमेन्ट भएर आयो भने बैंक र राष्ट्र बैंकको प्रक्रिया भनेको एकाध महिनामा टुंगिन सक्छ । बिक्रीकर्ता र खरिदकर्ताको एग्रिमेन्टको कति समय लाग्छ, त्यो म भन्न सक्दिन । 

एनबी समूहले सेयर किन्न टेण्डर हाल्दा किन हाल्न नदिएको ? 

एक्जिस्ट्रिङ प्रमोटरहरूको आवेदन फिट एण्ड प्रर्पाेटी टेस्टमा पास हुन सकेन । राष्ट्र बैंकको लाइसेन्सिङ पोलिसीमा सर्ट एण्ड कण्डिसनहरू छन् । बैंकको संस्थापक सेयर किन्नको लागि यी क्राइटएरिया पुगेको हुनुपर्छ, तर ती क्राइटएरिया नपुगेका कारण त्यो आवेदन पास हुन नुसकेको हो ।
 
एनबी समूहलेलाई किन्नको लागि तपाईँले रोल खेलेको भन्छन् नि ? 

यी सबै कुराहरू गफ हुन् । किनभने यो ट्रान्सपरेन्स हो । फिट एण्ड प्रपोटी टेस्टमा ब्यालेन्ससिट, आम्दानी, कर तिरेको सर्टिफिकेट, कालोसूचीमा नपरेको लगायत विभिन्न कुराहरू छन् । ती कुराहरू पूरा नभइसकेपछि जोकोहीले पनि पाउँदैन् । राष्ट्र बैंकले नै फिट एण्ड प्रर्पाेटी टेस्टमा सम्भव छैन् भनेको कुरा हो । त्यसमा मेरो रोल कुनै छैन् । 

नेपाल बंगलादेश बैंकलाई नबिल बैंकसँग मर्जर गराएर तपाइँ सीईओ बन्ने योजना छ, भन्ने सुनिएको छ नि ? 

मिडियामा के–के कुरा आउँछन् । आईएफसीको सेयर जसले किन्छ, उहाँहरूको निर्णयमा भर पर्छ । नबिल बैंकको संस्थापकले किन्यो भने तपाईँले भनेको कुरा सहि पनि हुन सक्छ । होइन अर्कै मान्छेले किन्यो भने तपाँईले भनेको कुरा गलत पनि हुनसक्छ । भोलिका कुरामा हामी आँकलन गर्न सक्दैनौ । त्यसकारण आईफआईसी किन्नको आईडेन्टीफाई गर्न सकेको छैन् । बिक्रेता र क्रेतामा सम्झौता भईसकेपछि ४१ प्रतिशत सेयर किन्ने मान्छेको निर्णयमा भर पर्ने कुरा हो । त्यसकारण मिडियामा आएका कुरा सबै सत्य हुँदैनन् । 

नबिल बैंकजस्तो बैंकसँग मर्ज भइदिए हुन्थ्यो चाहाना त तपाइँको पनि होला नि ? 

पक्कै पनि मेरो मात्रै होइन, नबिल बैंक आजको दिनमा नम्बर वान बैंक भनेर तपाइँहरूले नै लेखिराख्नुभएको छ । इन्डिकेटरहरूले देखाएको छ । अहिलेसम्म सबैभन्दा राम्रो डिभिडेण्ड रिटर्न दिने बैंकहरूमा नविल बैंक नै हो । मार्केटमा सेयर मूल्य नै हेर्ने हो भने बैंकहरूमा नम्बर वान छ । नीजि क्षेत्रको पहिलो बैंक हो । कर्पाेरेट ‘ल’ पनि राम्रो छ । त्यसका नियम कानुन पोलिसि राम्रो छ । स्टाबिलीटी राम्रो छ । त्यो बैंकसँग मर्ज हुन कसले मन नपराउला र ? यदि मर्ज हुने कुनै बैंकको इच्छा छ भने नबिल बैंक नै पहिलो रोजाई हुन्छ । यो त बिहे गरेजस्तो नै भयो नि । केटीले मन पराएपछि केटाले पनि मन पराउनु पर्यो नि । त्यो कुरामा मेरोभन्दा पनि मेरा सेयरहोल्डरको, सञ्चालकको, कर्मचारीको, निक्षेपकर्ताको, ऋणीहको हित र चाहना हेर्नुपर्छ । म त एक महिना बाँकी रहेको मान्छे हो । मेरो चाहानाले हुने र नचाहेर नहुने कुरा पनि होईन । संस्थापकहरूको निर्णयमा भर पर्ने कुरा हो । त्यसकारण सबै सेयरहोल्डरहरूको हित जेमा देखिन्छ, त्यसमा गर्ने हो । 

यसपालि त सञ्चालकहरूको चुनावमा त पुराना सञ्चालहरूले हारे नि ? 

पुराना एकजना आउनुभएको छ । पुराना ३ जनामध्ये २ जनाले जितको लागि भोट नपुग्ने अवस्था देखेर छोड्नुभयो । हार्नुभयो भन्दा पनि चुनाव हुने बेलामा हार्ने अवस्था भएर उहाँहरूले निर्वाचन प्रक्रियामा भाग नलिएको हो । त्यसैले कम भएको हो । पुराना सञ्चालकहरूलाई सेयरधनीहरूले मन नपराएकोले पनि हुन सक्छ । अहिले साधारणसभाबाट जुन टिन चुनिएर आएको छ, त्यो निकै व्यवसायीक छ । 

एनबी बैंक एक्लै चल्न नसक्ने अवस्थामा पुगेको हो त ? 

एक्लै चल्न नसक्ने पनि होइन । हामी एक्लै पनि चल्न सक्छौँ । हाम्रो विजनेश, स्ट्राटेजी, कष्ट अफ फण्ड, बेस रेट, कस्टमर हेरेर चल्न सक्छौँ । तर, बजार दिनप्रतिदिन प्रतिस्पर्धात्मक हुँदै गएको छ । विभिन्न रिस्कहरूमा ठूलो खर्च गर्नुपरेको छ । डिजिटाईजेशनमा जाँदाखेरि बैंकले ठूलो लगानी गर्नुपर्छ । कस्टमरको चेतनाले गर्दा बैंकहरूको स्प्रेड दिनानुदिन घट्दै गएको छ । राष्ट्र बैंकले दिएको ४.४ स्प्रेड कुनै पनि बैंकको छैन । हिजो हामी ४.४ कम भयो भन्थ्यौँ । अहिले त्यो घटेर अढाई, ३ मा झरिसकेको छ । भनेपछि भोलिका दिनमा यो अझै खुम्चिँदै जाने हो भने ठूलो बेसको क्यापिटल छ र रिटर्न राम्रो दिन सकिँदैन, त्यसकार सिनर्जीमा बेनिफिट हुन्छ भने मर्जमा जानुपर्छ । तर बैंक एक्लै सस्टेन हुन नसक्ने भन्ने होइन । एक्लै पनि सस्टेन हुन सक्छ । भलै केही वर्ष विजनेश ग्रोथलाई समात्नुपर्ने हुन्छ । रिटर्न कम होला, तर नसक्ने भन्ने होइन, सक्छ । 

एनबी बैंकमा १० वर्ष बिताउनुभयो १० वर्षपछि यो बैंकको नेतृत्व यहिँको व्यवस्थापनलाई छोड्ने कि बाहिरको ल्याउने ?
 
त्यो पनि मेरो हातमा छैन । मैले सीईओ नियुक्ती गर्ने होइन । मैले १० बर्षमा आन्तरिकरुपमा बैंकलाई हाँक्न सक्ने सक्षम हुने नेतृत्व विकास गरेका छु । बैंकभित्रै पनि सक्षम कर्मचारी हुनुहुन्छ, जसले बैंक चलाउन सक्छन् । ट्रान्जीक्सन अवधि, सेयर बिक्रीको अवधि भएको हुनाले अलिकति नयाँ सीईओ ल्याउनेभन्दा पनि आन्तरिक रुपमा नै विकसित भइसकेका जनशक्तिलाई प्रयोग गर्नुपर्छ भन्ने लाग्छ । मेरो रिकमण्डेशनचाहिँ त्यो रहन्छ । तर, अल्टिमेट निर्णय सञ्चालक समितिले गर्ने भएकाले सञ्चालक समितिले नै निर्णय गर्छ ।

यही सेयर मिलाउनको लागि तपाइँको कुनै यसमा रोल रहन्छ, वा कुनै तरिकाबाट सहयोग रहन्छ ? 

रिटायरमेन्ट भइसकेपछि राष्ट्र बैंकको निर्देशनअनुसार कुनै पनि रोलमा इन्भल्भ हुन मिल्दैन, ६ महिनासम्म कुलिङ पिरियड नै लाग्छ । इन्फर्मल्ली मैले थाहा पाएको ज्ञान वा को–अर्डिनेट कुनै फर्मल्ली नभई कुनै रोलमा नबसिकन बैंकको लागि म सल्लाह दिन तयार छु । 

यसको मतलब ६ महिनापछि पुनः एनबी बैंक फर्कने हो ?

होइन, नेपाल बंगलादेश बैंकमा कहिले पनि फर्किन, सकिदैन, सीईओ भएर । सीईओ भएर २ टर्मभन्दा बढी त पाइदैन् । त्यो सम्भावना छैन् । मर्ज भएपछि कुरामा तफसिलका भए । 

बैंकहरूले कर्जा ठप्प बनाएका छन्, सबै स्टाफहरूलाई निक्षेप खोज्न पठाएका छन्, यस्तो तालले कहिलेसम्म बैंकहरू चल्छन् ?

ओभरल बजारकै लिक्वीडिटी टाइट छ । एभरेज सीडी नै ९० क्रस गरिसकेको छ । भलै राष्ट्र बैंकले असार मसान्तसम्म मेन्टन गर्दा हुन्छ भन्यो । हामी आशा गर्छाै, तेस्रो क्वाटरदेखि लीक्वडीटि सहज होला । सरकारले विकास खर्च गर्न शुरु गर्ला, रेमिट्यान्स बढ्ला, रिफाइनान्सका नयाँ–नयाँ प्रस्ताव पास होलान् । तर, अहिलेको अवस्था ठप्पैभन्दा पनि सानो–तिनो कर्जा हामी दिइरहेका छौँ । अलि ठूलो कर्जा दिन सक्ने अवस्था छैनौं । किनभने एउटा लिगल रिक्वायरमेन्ट ९० प्रतिशत सीडी कटिसकेको बेलामा ठूलो कर्जा हामी दिनसक्ने अवस्थामा छैनौं । निक्षेप खोज्ने भनेको अर्काको निक्षेप तान्ने अवस्था मात्रै हो । बजारमा फ्रेस निक्षेप नै ल्याउने अवस्था छैन । कुनै अनौपचारिक क्षेत्रमा छ भने त्यस्तो निक्षेप खोज्दैमा पाउने पनि होइन । त्यसकारण अहिलेको अवस्थामा हेर्दा तुरुन्तै ठूला कर्जा जाने अवस्थामा छैन् । 

बैंकले कर्जा रोक्दा चालू भैराखेका विकासलाई पनि असर गर्ला नि ? 

पक्कै पनि लिक्वीडिटी क्रन्चले इकोनोमिक एक्टिभिटजहरूमा शिथिलता आउँछ नै । यसमा राष्ट्र बैंक र अर्थमन्त्रालय पनि सजग छ । हामीले त्यहि भएर स्थानीय तहको जाने निक्षेपलाई शतप्रतिशतलाई हाम्रो निक्षेपमा गणना गर्नुपर्छ भन्ने माग राखिराखेका छौँ । त्यतातिर पनि केही प्रगति भएको होला । राष्ट्र बैंकले रिफाइनान्सिङमा काम गर्न सुरु गरिसकेको छ । अर्थमन्त्रीले पनि विकास खर्च चाडोभन्दा चाडो नयाँ कानुन ल्याएर भए पनि गर्ने तयारी छौं भन्नुभएको छ । आशा गरौं, सधैँ निराशा पनि हुनुहुँदैन । नेपालमा लिक्वीडिटी डाउन विगत ५–७ वर्ष भईरहेको छ । कहिले कम कहिले बढी हुन्छ । लकडाउनको अवधिभरि बढी भयो, किनकी लगानीको मौका थिएन । लकडाउन खुल्नेवित्तिकै इकोनोमिक क्रियाकलापहरू सुरु भए । विजनेश रिभाइवल गर्न राष्ट्र बैंकले भनेका २० प्रतिशत कर्जाहरू दियौं । त्यसले पनि धेरै कर्जा गयो । नयाँ भन्दा पनि एक्जिस्ट्रिङ विजनेशलाई नै रिभाइव गर्नका लागि कर्जा दियौं । त्यसले गर्दा कर्जा बढेको देखिन्छ । स्वभाविकरुपमा एलिसी खोलेको हुन्छ, प्रोजेक्ट लोन दिएको छ, रनिङ बिल आएको हुन्छ । दिइसकेको कर्जालाई रोक्नुभएन । त्यसले गर्दा पनि कर्जा बढेको देखिन्छ । त्यतिलाई धान्नेगरी पनि बजारबाट निक्षेप आएको छैन् । निक्षेप बढाउन कोशिस गर्नुपर्छ । 

तरलता सुधार्न के गर्ने त, राष्ट्र बैंकले बैंकर्सको कुरा सुनेन् ? 

सुनिरहेको छ, सुनेन भन्न मिल्दैन । जस्तो, अहिले सीडी ९० प्रतिशत माथि हुँदा राष्ट्र बैंकले कारबाही गर्न सक्थ्यो, असारसम्म तपाइँहरू मेन्टेन गर्नु हामी कारबाही गर्दैनौ भनेको त्यो सुनुवाइ हो । राष्ट्र बैंकले रिफाइनान्सलाई चाँडो गरिदिनुस्, ग्याप नहोस । पुरानो रिफाइनान्स तिर्ने र नयाँ रिफाइनान्स लिनेबीचमा दुई–तीन हप्ताको ग्याप भइदियो भने दुई–तीन हप्ता लिक्वीडिटी हुन्छ । राष्ट्र बैंकले फास्ट रोटेसेन गरिदिएको छ । केही समय सिडी रेसियोको गणना विधि परिवर्तन गरिदिनुस् भनेका थियौ, सायद राष्ट्र बैंकले ‘पर्ख र हेर’को अवस्थामा होला । अझै अर्काे क्वाटर हेरेर केही गरिदेला । त्यस्तै, राष्ट्र बैंकले गर्न नसक्ने, सरकारले गर्नुपर्ने स्थानीय तहको निक्षेप गणना गर्न दिँदैनथ्यो । राष्ट्र बैंकले मात्रै भनेर हुँदैन, त्यो सरकार लागिरहेको छ, सरकारले पनि गर्ला । एनआरएनएहरूलाई डलरमा निक्षेप खोल्न दिने र डलरमा नै निक्षेप ब्याज फिर्ता लिन दिने नयाँ प्रोडक्ट ल्याइदिएको छ । राष्ट्र बैंकले नसुनेको छ त ? राष्ट्र बैंकका पनि त दायरा हुन्छन् नि । आफ्नो दायरा भित्र राष्ट्र बैंकले काम गरिरहेको छ । 

१० वर्षमा तपाईँले यस बैंकमा गरेका काम र गर्न बाँकी काम के छन् ? 

१० वर्ष भनेको एउटा सीईओको लागी धेरै सयम हो । १० वर्ष सेचुरेसन पिरियड हो । मैले गर्नुपर्ने प्रायः काम धेरै गरेँ । यस बैंकको व्यापार १ खर्ब नघाउन पाएको भए म सन्तुष्ट हुन्थ्येँ । लकडाउनलगायतका अन्य कारणले बढाउन सकिएन । मलाई खड्केको विषय यही हो । 

तपाइँको नाम नियुक्त हुन लागेको धितोपत्र बोर्डको अध्यक्षको लागी पनि चर्चामा छ नि ? 

अहिले दरखास्त परेको १२ वटामा मेरो नाम नै छैन कसरी हुन्छ ? 

सरकारले यो आवेदन नै रद्द गरेर नयाँ विज्ञापन गर्ने चर्चा छ नि ? 

अहिले बर्खास्तीमा परेका भीष्मराज ढुंगानाको बाँकी अवधिको लागि यो दरखास्त हो । जहाँ समय २ वर्ष पनि छैन । धितोपत्र बोड पनि मेरो रुचीको क्षेत्र हो । म राष्ट्र बैंकमा लामो समय नियमन गरेर बसेका मान्छे हुँ, तर अहिले मैले इन्टेष्ट देखाएको छैन । 

बैंक छोडेपछि के गर्नुहुन्छ ? 

६ महिना त राष्ट्र बैंकले नै घर बस भनेको छ । मैले ३० वर्ष राष्ट्र बैंक र प्राइभेट सेक्टरको बैंकमा गरेर विताएँ । मेरो नलेज अनुभव यही क्षेत्रमा छ भने म बैंकिङ छोडेर बाहिर जानै सक्दिन । मौका मिल्यो भने फेरि बैंकिङ सेक्टरमै आउँछु । 


प्रतिक्रिया दिनुहोस्