सिभिल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आजदेखी बिक्री खुला, कति छ ब्याजदर ?

काठमाडौं । सिभिल बैंक लिमिटेडले आज (मंसिर २४ गते, शुक्रबार) देखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको हो । बैंकले ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्कासन गर्न लागेको ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो । सर्वसाधारणका लागि छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बैंकको ऋणपत्रमा छिटोमा मंसिर २८ गतेसम्म र उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा पौष ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।