राष्ट्र बैंकले घटायाे विभाग, अव विकास बैंक र फाइनान्स कम्पनीलाई एउटै विभागले नियमन गर्ने « Arthapath.com
२० माघ २०७८, बिहीबार

राष्ट्र बैंकले घटायाे विभाग, अव विकास बैंक र फाइनान्स कम्पनीलाई एउटै विभागले नियमन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीको सुपरिवेक्षण एउटै विभागले गर्ने भएको छ । राष्ट्र बैंकले दुईवटा विभागलाई गाभेर एउटै विभागबाट सुपरिवेक्षण गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी “वित्तीय संस्था सुपरिवेक्षण विभाग” स्थापना गरेको हो । अब विकास बैंक र फाइनान्स कम्पनीको सुपरिवेक्षण वित्तीय संस्था सुपरिवेक्षण विभागले नै गर्ने भएको हो ।

राष्ट्र बैंकको कार्तिक ११ गते बसेको बैठकले दुवै विभाग एकीकृत गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकले वित्तीय संस्था सुपरिवेक्षण विभागको कार्यान्वयन २०७८ फागुन १ गतेदेखि गर्नेछ ।

विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभाग गाभेपछि “वित्तीय संस्था सुपरिवेक्षण विभाग” (Financial Institutions Supervision Department) ले नै विकास बैंक र फाइनान्स कम्पनीको सुपरिवेक्षण गर्ने राष्ट्र बैंक बताउँछ ।

हाल विकास बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा प्रदीपराज पौडेल र फाइनान्स कम्पनीमा पिताम्बर भण्डारी छन् । हालसम्म नयाँ स्थापना गरिएको विभागको जिम्मेवारी भने तोकेको छैन् ।

त्यस्तै, राष्ट्र बैंकले नयाँ विभाग ‘गैर बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग’ पनि स्थापना गरेको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआईडीसीएलजस्ता संस्थालाई नयाँ विभागले सुपरिवेक्षण गर्नेछ । उक्त विभागको विभागीय प्रमुखको जिम्मेवारी भने बैंकिङ विभागका निर्देशक रहेका वीरेन्द्रदत्त अवस्थीलाई दिइएको राष्ट्र बैंकले जनाएको छ ।

साथै उक्त विभागले विदेशी विनिमय कारोवार गर्ने ईजाजतपत्र प्राप्त संस्था, हायर पर्चेज कारोबार गर्ने कम्पनी र राष्ट्रिय सहकारी बैंकको सुपरिवेक्षण गर्नेछ । उक्त विभाग पनि फागुन १ गते देखि कार्यान्वयनमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्