विद्युतीय कारोबारमा ठगी धन्दा बढ्यो, यी ७ तरिका अपनाउन राष्ट्र बैंकको सुझाव « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

विद्युतीय कारोबारमा ठगी धन्दा बढ्यो, यी ७ तरिका अपनाउन राष्ट्र बैंकको सुझाव



काठमाडौं । विभिन्न बैंक तथा वित्तिय संस्थाको नक्कली फेसबुक पेजबाट सम्पर्क गरी खाताबारे जानकारी लिने र पैसा झिक्ने गरेको गुनासो बढेपछि नेपाल राष्ट्र बैंकले त्यसबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘अपरिचित व्यक्तिलाई कुनैपनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनैपनि संवेदनशील जानकारी दिनु हुँदैन । मोबाइल वा अन्य डिभाईस एवम् एपीपीका पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्नुपर्छ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्छ ।’

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन पनि आग्रह गरेको छ । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको र विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति रसमूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेकाले सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको हो ।

१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी Internet Banking अथवा Mobile Banking को User Name तथा Password माग्ने, नक्कली Website बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य Password, OTP वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् APP का पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।

३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ।

४. अनावश्यक तथा अनधिकृत APP आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन । यसरी अनधिकृत APP डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन्।

५. कसैले रकम भुक्तानी गर्ने बहानामा Barcode अथवा QR Code पठाएको अथवा APP को पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि Barcode, QR code अथवा पासवर्ड पठाउन आवश्यक छैन ।

६. कुनै पनि Website मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक Website हो/होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि Website को ठेगाना “https://” बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले Website को ठेगाना “https://” बाट सुरु भए नभएको यकीन गर्नुपर्दछ ।

७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्