घट्यो शेयर बजारमा बैंकको लगानी, सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकलाई पछ्याउँदै ग्लोबल आइएमई र नबिल

काठमाडौं ।चालु आर्थिक बर्षको ६ महिनामा वाणिज्य बैंकहरुले ६ खर्ब ८६ अर्ब ९२ करोठ ४३ लाख ७० हजार रुपैयाँ धितोपत्र औजारहरुमा लगानी गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ७ खर्ब ११ अर्ब ३१ करोड ७१ लाख १५ हजार रुपैयाँ धितोपत्र औजारहरुमा लगानी गरेका थिए । धितोपत्र औजारमा वाणिज्य बैंकहरुको लगानी गत आर्थिक बर्षको भन्दा चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा ३.४३ प्रतिशत घटेको हो ।
समिक्षा अवधिमा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकले धितोपत्र बजारमा लगानी गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४६ अर्ब ७७ करोड ४३ लाख २२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३४.१८ प्रतिशत कम लगानी गरेको हो ।
त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ४४ अर्ब ४७ करोड ७८ लाख ३२ हजार रुपैयाँ, तेस्रोमा नबिल बैंकले ४० अर्ब ७२ करोड ५९ लाख ६६ हजार रुपैयाँ, चौंथोमा प्रभु बैंकले ३७ अर्ब ५३ करोड २७ लाख ७ हजार रुपैयाँ र पाचौंमा एभरेष्ट बैंकले ३५ अर्ब ३५ करोड ६७ लाख ३० हजार रुपैयाँ धितोपत्र बजारमा लगानी गरेका छन् ।
सबैभन्दा कम सिभिल बैंक १२ अर्ब ३३ करोड ६० लाख ९५ हजार रुपैयाँ धितोपत्र बजारमा लगानी गरेको छ । त्यस्तै, लक्ष्मी बैंकले १२ अर्ब ७८ करोड ९६ लाख ५२ हजार रुपैयाँ, सेञ्चुरी बैंकले १४ अर्ब २८ करोड ७१ लाख १२ हजार रुपैयाँ, एनसीसी बैंकले १४ अर्ब २९ करोड २ लाख ८२ हजार रुपैयाँ र स्ट्याण्डर्ड चार्टट बैंकले १४ अर्ब ७८ करोड ८२ लाख १५ हजार रुपैयाँ धितोपत्र बजारमा लगानी गरेका छन् ।
शेयर बजार, ऋणपत्र, सामूहिक लगानी कोष तथा सरकारले जारी गरेका ऋणपत्रहरुमा बैंकहरुले लगानी गर्छन । जसलाई बैंकहरुले वित्तीय विवरणमा ‘धितोपत्रमा लगानी’ शीर्षक अन्तर्गत देखाउने गर्दछन् ।
राष्ट्र बैंकको नियम अनसार वाणिज्य बैंकहरुले कुनै पनि एक संगठित संस्थाको शेयर, ऋणपत्र र सामूहिक लगानी कोषको शेयर खरिद गर्दा कुल प्राथमिक पुँजीको बढीमा १० प्रतिशत मात्र किन्न पाउने व्यवस्था छ । त्यस्तै, सबै संगठित संस्थाको शेयर, ऋणपत्र र सामूहिक लगानी कोषमा प्राथमिक पुँजीको ३० प्रतिशत मात्रै शेयर खरिद गर्न पाउने व्यवस्था छ ।
