६ महिनामा ५.५ प्रतिशत रेमिट्यान्स गिरावट « Arthapath.com
२६ माघ २०७८, बुधबार

६ महिनामा ५.५ प्रतिशत रेमिट्यान्स गिरावट



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ५.५ प्रतिशत घटेको हो । चालु आवको ६ महिनामा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ आप्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १ लाख ६७ हजार ५१३ पुगेको राष्ट्र बैंक बताउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भई १ लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई ५ खर्ब २३ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस्