अनलाइनबाटै ५ लाख रुपैयाँ कर्जा प्रवाह गर्न पाउने, यस्तो छ राष्ट्र बैंकको विद्युतिय कर्जा प्रवाह मार्गदर्शन « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

अनलाइनबाटै ५ लाख रुपैयाँ कर्जा प्रवाह गर्न पाउने, यस्तो छ राष्ट्र बैंकको विद्युतिय कर्जा प्रवाह मार्गदर्शन



काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा विद्युतीय माध्यमबाट कारोबार बढ्र्द गएपछि राष्ट्र बैंकले विद्युतीय माध्यमबाट नै कर्जा प्रवाह गर्न सक्ने मार्गदर्शन जारी गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको मार्गदर्शन अनुसार विद्युतीय कर्जा प्रवाह गर्न सम्भावित ऋणीबाट कर्जा आवेदनदेखि कर्जा असुलिसम्मका कार्य सहजिकरण गर्न बैंक तथा वित्तीय संस्थाले आवश्यकताअनुसार अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रतिनिधिको रुपमा संलग्न गराउन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले तलबी खाता रहेका वा पेशागत तथा व्यवसायीक आय जम्मा हुने खाता रहेका ग्राहकको हकमा अधिकतम ५ लाख रुपैयाँसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सक्नेछन्। यस्तो कर्जाको अवधि अधिकतम ३ वर्षसम्म हुने छ । कर्जा भुक्तानी गर्दा किस्तामा वा एकैपटक भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिने छ।

ग्राहकसँग कर्जाको आवेदन लिंदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाहसम्बन्धी एक छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्ने सक्नेछन् ।

आवेदन प्राप्त भएपश्चात् बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्याङ विभिन्न श्रोतबाट विद्युतीय माध्यममार्फत् प्राप्त गर्नुपर्नेछ ।

कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्युतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनु पर्नेछ ।

स्वीकृत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुपर्नेछ । कर्जासम्बन्धी कागजातहरू विद्युतीय माध्यममा सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

कर्जा प्रवाह प्रक्रिया, ग्राहक, बैंक तथा वित्तीय संस्थाको कर्तव्य तथा उत्तरदायित्व, ग्राहक संरक्षणसँग सम्बन्धित विषयहरू, कर्जासम्बन्धी गुनासो सुनुवाईको व्यवस्था सम्बन्धमा विद्युतीय माध्यमबाट पर्याप्त जानकारी दिने व्यवस्था मिलाउनु पर्नेछ ।

विद्युतीय कर्जा प्रवाह गर्न चाहने बैंक वा वित्तीय संस्थाहरूले सो सम्बन्धमा आवश्यक नीति तथा प्रक्रिया तर्जुमा गरी सञ्चालक समितिबाट स्वीकृत गराई लागु गर्नुपर्नेछ ।

विद्युतीय कर्जा प्रवाह गर्दा कर्जा प्राप्त गर्ने ग्राहकको कर्जा उपयोग गर्ने र तिर्न सक्ने क्षमता विश्लेषण गरी बहुवैकिङ्ग कर्जा उपयोग नहुने सुनिश्चितता गर्ने व्यवस्था गर्नुपर्नेछ ।

ग्राहकको विवरण, वित्तीय सूचना तथा जानकारी ग्राहकको स्वीकृतिबिना कर्जा प्रयोजनबाहेक अन्यत्र प्रयोग गर्न तथा वितरण गर्न हुँदैन ।

ग्राहकको विवरण, वित्तीय सूचना तथा जानकारी सुरक्षित रूपमा भण्डारण गर्नु पर्नेछ । कर्जा स्वीकृत भएको जानकारी विद्युतीय माध्यमबाट ग्राहकलाई दिनु पर्नेछ । ग्राहकले कर्जा भुक्तानी गर्न नसकेमा त्यस्ता ग्राहकलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

विद्युतीय कर्जा प्रवाह गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित कानूनको पालना सम्बन्धमा आवश्यक व्यवस्था गर्नुपर्नेछ । विद्युतीय कर्जासम्बन्धी विवरण त्रैमासिक रूपमा सुपरिवेक्षण विभागमा विद्युतीय माध्यमबाट पेश गर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाको विद्युतीय कर्जा प्रक्रियामा अन्य भुक्तानी सेवा प्रदायक संस्था प्रतिनिधिको रूपमा संलग्न हुने भएमा सम्बन्धित दुवै पक्षको सञ्चालक समितिबाट यस सम्बन्धमा कार्यविधि स्वीकृत गरी लागु गरेको हुनुपर्नेछ । कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्था र सम्बन्धित भुक्तानी सेवा प्रदायकबीच आधिकारिक प्रतिनिधि सम्बन्धी सम्झौता भएको हुनुपर्नेछ ।

ग्राहकले कुन बैंक वा वित्तीय संस्थाबाट कर्जा उपयोग गर्न लागेको हो सो सम्बन्धमा ग्राहकलाई स्पष्ट जानकारी दिने व्यवस्था भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्नेछ ।

विद्युतीय कर्जा प्रवाहको सिलसिलामा प्राप्त भएका ग्राहकसँग सम्बन्धित सम्पूर्ण विवरण कर्जा प्रवाह गर्ने प्रयोजनबाहेक अन्यत्र प्रयोग गर्नु हुँदैन । ग्राहकसम्बन्धी विवरणको गोपनीयता कायम गर्ने जिम्मेवारी सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाको हुनेछ ।

भुक्तानी सेवा प्रदायक संस्थाले ग्राहकलाई कुनै बैंक तथा वित्तीय संस्था विशेषको कर्जा उपयोग गर्ने गरी प्रभावित गर्ने कार्य गर्नु हुँदैन । कर्जा स्वीकृत भएपश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थाले उपलब्ध गराएको कर्जा स्वीकृति पत्र भुक्तानी सेवा प्रदायक संस्थाले ग्राहकलाई विद्युतीय प्रणालीमार्फत् उपलब्ध गराउनु पर्नेछ ।

भुक्तानी सेवा प्रदायकले कर्जाको आवेदन, ग्राहकको मूल्याङ्कन, कर्जा सूचना प्राप्ति, कर्जा स्वीकृतिको जानकारी, कर्जाको भुक्तानी र कर्जाको साँवा व्याज असूली लगायतका काम स्वचालित रूपमा गर्ने प्रणालीको विकास गर्नुपर्नेछ ।

विद्युतीय कर्जा प्रवाह गर्दा कर्जा सम्बन्धी अन्य व्यवस्थाहरू यस बैंकबाट क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी एकीकृत निर्देशन बमोजिम हुनेछ । ग्राहकलाई विद्युतीय कर्जा उपयोग गर्दा लाग्ने शुल्कको बारेमा कर्जा प्रवाह गर्नुपूर्व स्पष्ट जानकारी दिनुपर्नेछ ।

ग्राहकसँग कर्जा सेवा शूल्क तथा तेश्रो पक्षलाई बुझाउनु पर्ने शुल्कबाहेक अन्य शुल्क लिन पाइने छैन ।

बैंक तथा वित्तीय संस्थाको विद्युतीय कर्जा प्रक्रियामा अन्य भुक्तानी सेवा प्रदायक संस्था आधिकारिक प्रतिनिधिको रूपमा संलग्न हुने भएमा त्यस्ता संस्थालाई प्रदान गर्नुपर्ने सेवाशुल्क ग्राहकबाट अतिरिक्त रूपमा नलिई बैंक तथा वित्तीय संस्थाले नै व्यहोर्नु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्