एनआईबिएलसँग मर्ज अस्विकृत भएपछि हिमालयन बैंकको मर्जर कमिटिबाट थापा र शर्माको राजीनामा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया रद्ध भएपछि हिमालयन बैंकको मर्जर कमिटिबाट सुनिल थापा र आशीष शर्माले राजीनामा दिएका छन् ।
हिमालयन बैंकका सञ्चालक समेत रहेका थापा र शर्माले बैंकले मर्ज गर्नको लागि बनाएको कमिटिमा सदस्य रहेका थिए । थापा र शर्मा हिमालयन बैंकको तर्फबाट सयुक्त मर्जर कमिटिको सदस्य रहेका थिए ।
मिहालयन बैंकको वार्षिक साधारण सभामा बहुमतले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा नजाने निर्णय गरेसँगै मर्जर प्रक्रिया पनि अस्वीकृत भएको थियो । मर्जर कमिटिको सदस्यबाट राजीनमा दिएका सुनिल थापाले आफूहरु मर्जरको पक्षमा रहेको भएपनि साधारणसभाले मर्जरको प्रस्ताव पास नगरेपछि कमिटिबाट राजीनमा दिएको बताएका छन् ।
त्यस्तै अर्का सदस्य आशीष शर्मा नैतिकताको आधारमा राजीनामा दिएको बताउँछन् । मर्जरमा जाने सम्झौता गरेको भएपनि साधारणसभाले डिमर्जको प्रस्ताव पारित गरेकाले राजीनामा दिएको उनले बताए ।
हिमालयन बैंक लिमिटेडको पौष ३० गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बिचको मर्जर सम्बन्धी विशेष प्रस्ताव अस्विकृत गरेको थियो । मर्जरको पक्षमा ४३.६३ प्रतिशत, विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए । प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको थियो ।