पूर्व सीईओसहित ३ जना कर्मचारी थुनामा « Arthapath.com
२२ फाल्गुन २०७८, आईतवार

पूर्व सीईओसहित ३ जना कर्मचारी थुनामा



काठमाडौं । सप्तकोशी डेमलपमेन्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदी सहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको इजालसले पूर्व सीईओ सुवेदीसहित ३ जना कर्मचारीलाई थुनामा राख्न आदेश दिएको हो ।

बैंकका तत्कालीन सीईओ नवीन सुवेदी, लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । रकम हिनामिना प्रकरणमा सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो । सीईओ सुवेदीलाई बैंकको १५ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो । अनुसन्धानका क्रममा बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको खुलेको थियो । पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले सीईओ पनि शंकाको घेरामा थिए ।

त्यस्तै, दुई जना कर्मचारीलाई भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको छ । बैंकको सेवा विभागका वरिष्ठ सहायक होमप्रसाद पौडेल र बैंकका अपरेसन प्रमुख अमित थापा जनही २ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

सो काण्डमा संलग्न अन्य ७ जना फरार छन् । ७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । फरार हुनेमा बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, खातावाला बबिता बस्नेत, वरिष्ठ सहायक शुभेच्छा निरौला, कमल दाहाल र मनोज भट्टराई छन् ।

सप्तकोशी डेभलपमेन्ट बैंकका ९ जना कर्मचारी र ३ खातावाला गरी १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा फागुन १० गते मुद्दा दायर भएको थियो ।


प्रतिक्रिया दिनुहोस्