शेयर बजारसँगै लघुवित्त संस्थाहरुको कूल लगानी घट्यो, कुन क्षेत्रमा कति लगानी ? « Arthapath.com
२५ फाल्गुन २०७८, बुधबार

शेयर बजारसँगै लघुवित्त संस्थाहरुको कूल लगानी घट्यो, कुन क्षेत्रमा कति लगानी ?



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्त वित्तीय संस्थाहरूको लगानी घटेको छ । चालु आर्थिक बर्षको पौष मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले लघुवित्तको लगानी घटेको जनाएको हो ।

चालु आर्थिक २०७८ पौष मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूले ९ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ कूल लगानी गरेका छन् । जुन २०७८ असार मसान्तको तुलनामा ३२.६१ प्रतिशत कम रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो ।

विशेषगरी मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको राष्ट्र बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म ८ अर्व २७ करोड रुपैयाँ राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो ।

लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा मुद्धती निक्षेपमा गरेको लगानी र शेयर तथा डिबेञ्चरमा गरेको लगानी घटेको देखिन्छ । पौष मसान्सतसम्ममा लघुवित्त वित्तीय संस्थाहरुले शेयर तथा डिवेञ्चरमा ११ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तहरुले १३ करोड २० लाख रुपैयाँ धितोपत्र (शेयर तथा डिवेञ्चर) मा लगानी गरेका थिए ।

त्यस्तै, चालु आर्थिक बर्षको ६ महिनमा लघुवित्तहरुले सरकारी सुरक्षण पत्रमा ७७ करोड ३ लाख रुपैयाँ गरेका छन् । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले सरकारी सुरक्षण पत्रमा ६० करोड २९ लाख रुपैयाँ लगानी गरेका थिए ।

यता पौष मसान्तसम्ममा लघुवित्त संस्थाहरुले अन्य लगानी ७५ करोड १७ लाख रुपैयाँ गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्