सूर्योदय वोमी लघुवित्तको एकीकृत कारोबार चैत १९ गतेदेखि हुने, यस्तो बन्ने छ लघुवित्त

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार हुने भएको छ । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट चैत १९ गतेका दिन एकीकृत कारोबार गरिने भएको हो ।
वोमी लघुवित्त र सुर्योदय लघुवित्त एक आपसमा गाभ्ने–गाभिने प्रयोजनको लागि पौष २९ गते बिहीबार अन्तिम सम्झौता भएको थियो । पौष १६ गते सम्पन्न वोमी लघुवित्तको १० औं वर्षिक साधारण सभा र सूर्याेदय लघुवित्तको नवौं वार्षिक साधारण सभाले गाभ्ने तथा मर्ज गर्ने प्रस्ताव पारित गरेका थिए ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ बमोजिम गाभ्न–गाभिनका लागि राष्ट्र बैंकले समेत स्वीकृत दिइसकेको छ ।
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदौ १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । राष्ट्र बैंकले कार्तिक १ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै संस्था १ः१ स्वाप रेशियोमा मर्ज भएका हुन् । वोमी लघुवित्तको १०० कित्ता शेयर बराबर सूर्योदय लघुवित्तको १०० कित्ता शेयर आदान प्रदान अनुपात कायम गरिएको छ ।
मर्जरपछि सूर्योदय वोमी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हाल सूर्योदय लघुवित्तका सीईओ रहेका मोक्ष प्रसाद पंगेनी बन्नेछन् भने अध्यक्षमा विन्दिया श्रेष्ठ प्रधान बन्ने सहमति भएको छ । वोमी लघुवित्तका सीईओ प्रमेश आचार्य नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।
मर्जरपश्चात सूर्योदय वोमी लघुवित्तको चुक्ता पूँजी ७९ करोड १९ लाख रुपैयाँ, निक्षेप ४ अर्ब रुपैयाँ, ११ अर्ब रुपैयाँ कर्जा र ग्राहक संख्या १ लाख ७५ हजार पुग्नेछन् ।
यता मर्जर पश्चात बन्ने सूर्योदय वोमी लघुवित्तमा कर्मचारी संख्या १ हजार भन्दा धेरै हुनेछन् भने शाखा १९१ वाट पुग्ने छन् ।
