नेप्सेसहित ७ वटा संस्थाको शेयर बिक्रि गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित विभिन्न ७ वटा संस्थामा रहेको आफ्नो शेयर बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर पुरै तथा आंशिक रुपमा बिक्रि गर्नलाई डेपुटी गभर्नर डा. निलम ढुंगानाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा डेपुटी गभर्नर डा. ढुंगाना सहित वित्तीय व्यवस्थापन विभाग, नियमन विभाग, सामान्य सेवा विभागका विभागीय प्रमुख रहेका छन् ।
राष्ट्र बैंकले आफ्नो शेयर स्वामित्व रहेका ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्रिय वीमा संस्थान, नेशनल बैंकिंङ इन्स्टिच्युट, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, एग्रिकल्चर प्रोजेक्ट सर्भिस सेन्टरको शेयर बिक्रि गर्ने भएको हो ।
ग्रामिण विकास लघुवित्तमा २.७९ प्रतिशत, राष्ट्रिय बीमा संस्थानमा ५५.५५ प्रतिशत, नेशनल बैंकिंङ इन्स्टिच्युटमा १५.२९ प्रतिशत, राष्ट्रिय उत्पादकत्वमा ३१.५२ प्रतिशत र एग्रिकल्चर प्रोजेक्टमा ६२.५ प्रतिशत शेयर राष्ट्र बैंक रहेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था अनुसार राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको शेयर स्वामित्व पुरै तथा आंशिक विनिवेश गर्ने भएको हो । राष्ट्र बैंकको उद्देश्य मिल्ने प्रकृतिका संस्थामा १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व हुन नहुने तथा उदेश्य नमिल्ने संस्थामा कुनै पनि स्वामित्व हुन नहुने कानुनी प्रावधानअनुसार नै विभिन्न संस्थामा रहेको शेयर बिक्रि गर्न लागेको हो ।
यसअघि राष्ट्र बैंकले नागरिक लगानी कोषमा रहेको आफ्नो १३.३४ प्रतिशत शेयर बिक्रि गरिसकेको छ भने नेपाल स्टक एक्सचेञ्जमा रहेको शेयर पनि आंशिक रुपमा बिक्रि गरिसकेको छ । राष्ट्र बैंकको नेप्सेमा हाल १४.६० प्रतिशत शेयर रहेको छ । उक्त शेयर स्वामित्व १० प्रतिशतमा झार्ने गरी बिक्रि प्रक्रियामा रहेको छ । यसअघि राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो स्वामित्वको शेयर प्रति कित्ता ११४४ रुपैयाँमा बिक्रि गरेको थियो ।
राष्ट्र बैकको विभिन्न १० वटा संस्थामा शेयर रहेको छ । नागरिक लगानी कोष, ग्रामिण विकास लघुवित्त र राष्ट्रिय बीमा संस्थानको शेयर पुरै विनिवेश गर्नु पर्नेछ । त्यस्तै नेप्से र नेशनल बैंकिङ इन्चित्युटको शेयर १० प्रतिशतको सीमामा ल्याउनु पर्ने छ । क्लियारिंग हाउस, कर्जा सूचना केन्द्र, र निक्षेप तथा कर्जा सुरक्षण कोषमा गरिएको लगानी भने सीमा भित्रै छ । त्यस्तै राष्ट्र बैंकले राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र एग्रिकल्चर प्रोजेक्ट सर्भिस सेन्टरको सेयर पनि बेच्नु पर्ने छ ।