गभर्नर अधिकारीलाई अर्थमन्त्रीको जवाफ ‘नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पुर्याउने सपना पूरा हुन दिन्न’ « Arthapath.com
२५ चैत्र २०७८, शुक्रबार

गभर्नर अधिकारीलाई अर्थमन्त्रीको जवाफ ‘नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पुर्याउने सपना पूरा हुन दिन्न’



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकप्रति असन्तुष्टि पोखेका छन् । मन्त्री शर्माले राष्ट्र बैंकका उच्च कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाउने गरेको बताउँदै असन्तुष्टि पोखेका हुन् । नेपाल राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप समेत लगाएका हुन् ।

‘मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु र्पुयाइन्छ किन ? यस्तै अनुशासन हुन्छ ? कतिपय सूचनाहरु हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैनन्,’ मन्त्री शर्माले भने, ‘बदमासी भइराखेको छ, एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले ।’

अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन अर्थ मन्त्रालयमा निवेदन आएको र सो निवेदन राष्ट्र बैंकलाई पठाउँदा राष्ट्र बैंकले मिडियालाई बोलाएर दिएको अर्थमन्त्रीको भनाई छ ।

राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दिएको सुझावको सुची पनि अर्थ मन्त्रालयमा आउनु अघि मिडियालाई दिएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । उनले यस्ता सुझाव कार्यन्वयन नहुदै मिडियामा आउँदा त्यसले अर्थतन्त्रलाई असर गर्ने बताए ।

मन्त्री शर्माले कतिपयको चाहना नेपालको अर्थतन्त्रलाई श्रीलंकाको अवस्थामा पुर्याउने रहेको भए पनि उनीहरूको त्यो सपना पूरा नहुने उनले दाबी पनि गरे । ‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋणको कुराले हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस् । अर्थतन्त्रमा फेरि समस्याहरू छन् त्यो हामीले पनि भनिरहेका छौं । त्यसलाई बदल्नुपर्छ । तर, कतिपयलाई रहर छ श्रीलंका बनाउने । तीनको सपना पूरा हुँदैन ।’

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको बताएका थिए । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकोले आयात नघटेमा श्रीलंकाजस्तो स्थिती आउन सक्ने चेतावनी गभर्नर अधिकारीले दिएका थिए । आयात बढ्दै जाने र विदेशी मुद्रा आर्जन नभएमा श्रीलंकाको बाटोमा जाने गभर्नर अधिकारी बताए । अहिले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीको रुपमा देखिएको उनको भनाई छ ।

चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको, आयात बढेको कारण शोधानान्तर घाटा भएको र बैंकमा तरलता अभाव रहेको उनले बताए । आयात निरुत्साहन गर्न नगद मार्जिनदेखि लिएर कर्जामा जोखिम भार थप्ने तथा सुनचाँदीको आयातमा कडाइ गरेको छ उनले बताए । विदेशी सञ्चिती जोगाउनुपर्ने अहिलेको बाध्यता गभर्नर अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्