अर्थमन्त्री शर्मालाई लघुवित्तका सीईओको जवाफ, ‘पब्लिक निक्षेपको अनुमति दिए सिरानीमुनीको पैसा ल्याउँछौं’

काठमाडौं । विजय लघुवित्तका सीईओ लम्सालले पब्लिक निक्षेप ल्याउनको लागि लघुवित्तहरुलाई अनुमति दिनुपर्ने बताएका छन् । नेपाल लघुवित्त वित्तीय संघ (एनबीए) का पूर्वअध्यक्ष समेत रहेका विजय लघुवित्त वित्तीय संस्थाका सीईओ बसन्तराज लम्सालले लघुवित्तहरुलाई पब्लिक डिपोजिटको अनुमति दिए सिरानीमुनीको पैसा ल्याउने दाबी गरेका हुन् ।
बैंकिङ् च्यानलमा निक्षेप भित्र्याउन लघुवित्तहरुको भूमिका महत्वपूर्ण हुने भएकाले लघुवित्त संस्थालाई पब्लिक डिपोजिटको अनुमति दिनुपर्ने बताएका हुन् ।
आफूहरुलाई गाउँमा भएको पब्लिक डिपोटिज उठाउन अनुमति दियो भने गाउँका सिरानीमुनी रहेको पैसा ल्याउने सीईओ लम्सालले बताए । लघुवित्त प्रत्येक गाउँ गाउँमा पुगेकाले प्रत्येक गाउँका मान्छेसँग पहुँच रहेको उनको भनाई छ । गाँउका मान्छेलेल थोरै रकम जम्मा गरेपनि सबैले जम्मा गर्दा धेरै रकम हुने उनको भनाई छ ।
उनले भने, ‘हामीलाई गाउँमा भएको पब्लिक डिपोटिज उठाउन अनुमति दिनुहोस्, गाउँका सिरानीमुनी लगायत जहाँ जहाँ छ, त्यो पैसा हामी ल्याउन सक्छौं, किनभने हामी प्रत्येक गाउँ गाउँमा पुगिरहेका हुन्छौं, प्रत्येक गाउँका मान्छेसँग हाम्रो पहुँच छ, उनीहरूले थोरै नै जम्मा गरेको भएपनि सबैको गर्दा धेरै रकम हुन्छ, ।’
नेपाल राष्ट्र बैंकले सेक्युरिटी र रिफन्डको हिसाबले लघुवित्तहरुलाई पब्लिक निक्षेप ल्याउन दिएको छैन् । राष्ट्र बैंकलाई फण्डको म्यानेज गर्न नसक्ने र संस्थाको क्षमता नै छैन भन्ने लागेको उनले बताए । तर अहिले लघुवित्तहरु दुबै हिसाबले सक्षम भइसकेको र राष्ट्र बैंकले विभिन्न मापदण्ड बनाएर अनुमति दिनुपर्ने उनको भनाई छ ,।
केही दिन अघि मात्रै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको बताएका थिए । नागरिक लगानी कोषको ३२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले तरलताको अभाव सृजना गराउन ओछ्यानमुनी वा सिरानमुनी पैसा राख्ने प्रवृत्ति बढेको भन्दै खोज्न थालेको बताएका थिए । ‘पुँजी कतै हराइरहेको छ । आखिर बजारबाट पैसा कहाँ हराइरहेको छ ? कतै सिरानीमुनी र ओछ्यानमुनी त बन्द रहेको छैन भन्ने कुराको खोजीमा म लागेको छु’ उनले भनेका थिए, ‘हाम्रो पुँजी निस्क्रिय भएर कतै बसिरहेको त छैन ? यता तिर पनि हामी सबै नागरिकको ध्यान जानुपर्छ ।’
लघुवित्त वित्तीय संस्थाहरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए) का अध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ प्रकाशराज शर्माले व्याजदरमा लगाईएको १५ प्रतिशतको क्यापभन्दा बेस रेटको आधारमा लगानी गर्न पाउनु पर्ने बताएका छन् । सीईओ शर्माले लघुवित्तहरुको लागि बेस रेट लागत र कष्ट अफ प्रडक्सन बिजनेश रहेको बताएका हुन् । राष्ट्र बैंकले लघुवित्तहरुलाई निक्षेप दिनको लागि वैज्ञानिक आधार बनाउन उनले माग गरे । लघुवित्तलाई लिक्विडिटी, पोर्टफोलियो जस्ता विभिन्न सूचकका आधारमा निक्षेप दिनुपर्ने उनले बताए ।