मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ सरकारबाट विभूषित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रविना देशराज श्रेष्ठ विभूषित भएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरेकी हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।
मेगा बैंक सञ्चालक समितिको बुधबारको बैठकले उनीलाई कायममुकायम सीईओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ्ग र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् ।
३१ वर्षदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङ्गमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।