जेठ महिना भित्र एनबी बैंकलाई गाभ्ने नबिलको तयारी, प्राप्तिपश्चात् यस्ता हुनेछन् बैंकका सूचक

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको संयुक्त कारोबार गर्ने गरी तयारी तिव्र थालिएको छ । नबिल बैंकले नेपाल बङ्गलादेश (एनबी) बैंकलाई आगामी जेठ महिनाभित्रै गाभ्ने गरी गृहकार्य गरिरहेको छ । नबिल बैंकको मर्जर कमिटिले त्यसको लागि आवश्यक प्रक्रिया तिव्र गरेको हो ।
नबिल बैंक स्रोतका अनुसार जेठमहिना भित्र बङ्गलादेश बैंकलाई गाभ्नका लागि आवश्यक कार्यहरू भइरहेको छ । सैद्धान्तिक सहमति पाएको ६ महिनाभित्र सबै मापदण्ड पूरा गरी एक्विजिसनमा गइसक्नुपर्ने कानुनी व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बङ्गलादेश बैंक गाभ्न फागुन ३० गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
नबिल बैंकको प्रति १ सय कित्ता शेयर बराबर एनबी बैंकको ४३ कित्तामा प्राप्ति गर्ने समझदारी बनेको थियो । यसअघि नबिल बैंकले एनबी बैंकलाई १००ः४३ को अनुपातमा प्राप्ति गर्ने सहमति भएपनि परिवर्तन हुन सक्ने सम्भावना रहेको छ ।
नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । एनबी बैंकको १० अर्ब ८ करोड रुपैयाँ छ । प्राप्तिपश्चात् २८ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी पुग्नेछ । त्यस्तै, कर्जा रकम ३०० अर्ब रुपैयाँ, निक्षेप रकम ३१४ अर्ब रुपैयाँ पुग्नेछ ।
गैरकोषमा आधारित व्यवसायको आकार १३० अर्ब रुपैयाँ माथि पुग्ने बैंकले जनाएको छ । त्यसैगरी शाखा सञ्जाल तत्कालै २३५ पुग्ने छन् भने ग्राहक संख्या १६ लाख माथि हुने बैंकले जानकारी दिएको छ ।
प्राप्तिपछि बैंकको वार्षिक नाफा ६ अर्ब रुपैयाँ हाराहारी हुनेछ । प्राप्तिपछि पूँजी बाहेक नबिलको जगेडा तथा कोषमा २१ अर्ब ६२ करोड रुपैयाँको पुग्नेछ । नबिल बैंकको पूँजी कोष ४४ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ । बैंकको कर्मचारी संख्या २ हजार ३०१ जना पुग्नेछन् ।