वाणिज्य बैंकको नाफा ५१ अर्ब, सेञ्चुरी आक्रामक बन्न खोज्दा सिभिल २ स्टेप अघि बढ्यो, प्राइमको प्रतिस्पर्धा नबिलसँग « Arthapath.com
७ बैशाख २०७९, बुधबार

वाणिज्य बैंकको नाफा ५१ अर्ब, सेञ्चुरी आक्रामक बन्न खोज्दा सिभिल २ स्टेप अघि बढ्यो, प्राइमको प्रतिस्पर्धा नबिलसँग



काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २७ वटा वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा वाणिज्य बैंकहरुको नाफा ०.५४ प्रतिशत मात्रै बढेको छ ।

संचालनमा रहेका कुल २७ बैंकहरुले चैत मसान्तसम्ममा कुल ५१ अर्ब १ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक बर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड २५ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

गत आर्थिक बर्षको तुलनमा यस आर्थिक बर्षको चैत्र मसान्तसम्ममा वाणिज्य बैंकहरुले १ अर्ब ८८ करोड नाफा आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै ग्लोबल आएमई बैंकले ३ अर्ब ७२ करोड नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकले ३ अर्ब ६० करोड रुपैयाँ, तेस्रोमा नबिल बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यता चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा कम लक्ष्मी बैंकले ८५ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । यस अवधिमा १२ बैंकको नाफा घटेको छ । समिक्षा अवधिमा सेञ्चुरी कमर्सियल बैंकको नाफा सर्वाधिक १८३.५९ प्रतिशतले बढेको छ ।

यता गत आर्थिक बर्षको सोही अवधिमा पुच्छारमा रहेको सिभिल बैंकले बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकलाई पछि पारेको छ । सिभिल बैंक २ बैंकको भन्दा बढी नाफा आर्जन गर्दै २७ औ बाट २५ औंस्थामा उक्लिएको छ । यहि अवस्थामा अघि बढ्ने हो भने प्राइम कमर्सियल बैंकले नम्बर वानको ताज ओगटेको नबिल बैंकसँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्