सिटिजन्स बैंकको लाभांश इतिहासः शेयरधनीको हात कहिल्यै रित्तो भएन, बोनस र नगद कति ?

काठमाडौं । आजेदखि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । २०६४ बैशाख ७ गतेदेखि वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । २० औं वाणिज्य बैंकका रुपमा स्थापना भएको बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो ।
१५ बर्षको अवधिमा बैंकका ग्राहक संख्या १३ लाख ५५ हजार पुगेका छन् । बैंकले सातवटै प्रदेशमा विभिन्न १७४ वटा शाखा मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बैंकको कूल निक्षेप १ खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ, कर्जा तर्फ १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक बर्षे ९ मपहनामा १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले निरन्तर १५ वर्ष सेवा गर्ने १५ जना कर्मचारी, १० वर्ष सेवा गर्ने ३६ जना कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मान गरेको छ ।
बैंकले १५ बर्षको अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सृजना फाइनान्स प्राप्ति गरेको छ । स्थापनाकालमा ४४ जना कर्मचारी रहेकोमा हाल १ हजार ६ सय जना कर्मचारीले रोजगारी पाएको बैंकले जनाएको छ ।
बैंकले १५ बर्षको इतिहासमा १३ बर्ष शेयरधनीलाई लाभांश वितरण गरेको छ । बैंकले प्रत्येक बर्ष निरन्तर रुपमा शेयरधनीलाई लाभांश वितरण गर्दै आईरहेको छ । अन्य कम्पनीको जस्तै बैंकले एकै पटक धेरै नदिएपनि शेयरधनीको हात भने रित्तो बनाएको छैन् ।
१३ बर्षको इतिहासमा बैंकले ९७.३४१ प्रतिशत बोनस शेयर र ८०.१३२ प्रतिशत नगद गरी कूल १७७.४७३ प्रतिशत लाभांश वितरण गरेको छ ।
