एनएमबि बैंकले बैशाख २१ गतेदेखि साढे ३ अर्ब रुपैयाँको उर्जा ऋणपत्र बिक्री गर्ने, कति छ ब्याजदर ? « Arthapath.com
१२ बैशाख २०७९, सोमबार

एनएमबि बैंकले बैशाख २१ गतेदेखि साढे ३ अर्ब रुपैयाँको उर्जा ऋणपत्र बिक्री गर्ने, कति छ ब्याजदर ?



काठमाडौं । एनएमबि बैंकले बैशाख २१ गतेदेखि उर्जा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३–९४’ नामको ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकको उक्त उर्जा ऋणपत्रको अवधि १५ वर्ष रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्नेछ । जसमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ । जसमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी १३ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

बैंकको उक्त ऋणपत्रमा इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकको उक्त ऋणपत्रमा छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।

बैंकले यो दोस्रो पटक ऋणपत्र जारी गर्न लागेको हो । यसअघि बैंकले गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्