गभर्नर अधिकारीको रिटमाथि बहस सकिएन, शुक्रबार फेरि बोलाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा बहस नसकिएपछि स्थगित गरिएको छ । यसअघि गत बंगलबार बहस भएको थियो । मंगलबार बहस नसकिएपछि बिहीबारका लागि बोलाईएको थियो ।
तर बिहीबार पनि बहस नसकिएपछि फेरि शुक्रबारका लागि बोलाइएको सर्वाेच्च अदालतले जानकारी दिएको छ । गभर्नर अधिकारीको रिट बिहीबार हेर्दाहेर्दैमा स्थगित भएको हो ।
बिहीबार सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । तर बहस नसकिएपछि शुक्रबार पुन बोलाएको हो । दुवै पक्षका वकिलहरुको बहस अन्तिम चरणमा रहेकाले शुक्रबार सर्वाेच्च अदालतले फैसला घोषणा गर्न सक्ने अनुमान छ । उक्त मुद्धा न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा परेको छ ।
यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रिटमाथि सुनुवाई गर्दै अन्तरकालिन आदेश जारी गरेको थियो । सरकारको निर्णयविरुद्ध गत वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै उनले रिट निवेदन दर्ता गर्न गएका थिए । चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो ।