एनएमबि बैंकको छिटो अवधिमा भित्र नबिकेको उर्जा ऋणपत्रमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने « Arthapath.com
२५ बैशाख २०७९, आईतवार

एनएमबि बैंकको छिटो अवधिमा भित्र नबिकेको उर्जा ऋणपत्रमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । एनएमबि बैंकको बैशाख २१ गतेदेखि निष्काशनमा आएको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म बिक्रीमा रहने भएको छ । कम्पनीले तोकेको छोटो अवधि बैशाख २५ गतेसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म बिक्रीमा रहेको जनाएको हो ।

बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३–९४’ नामको ऋणपत्र बिक्री गरेको हो । बैंकको उक्त उर्जा ऋणपत्रको अवधि १५ वर्ष रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । जसमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी १३ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

बैंकको उक्त ऋणपत्रमा इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ


प्रतिक्रिया दिनुहोस्