११ प्रतिशत ब्याज पाइने नागरिक बचतपत्र बिक्री खुला, ६-६ महिनामा ब्याज पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकको नागरिक बचतपत्र बिक्री खुला गरिएको छ । राष्ट्र बैंकले नागरिक बचतपत्रमा बिहीबारदेखि आवेदन खुला गरेको हो ।
राष्ट्र बैंकले ११ प्रतिशत ब्याजदरमा कूल ३ अर्ब ३ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र नेपाली नागरिकका लागि बिक्री खुला गरेको हो । उक्त बचतपत्रको अवधि ५ वर्ष रहेको छ । उक्त नागरिक बचतपत्रमा लगानी गरेवापत वार्षिक ११ प्रतिशत ब्याज पाइने राष्ट्र बैंकले जनाएको छ
बैंकको उक्त बचतपत्रमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० हजार रुपैयाँ र सो रकमले निस्शेष भाग जाने रकममा आवेदन दिन सक्नेछन् ।
६–६ महिनामा आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकका प्रादेशिक कार्यालयमार्फत ब्याज लिन सकिन्छ । आगामी असार ८ गते यसको निस्कासन मिति तोकिएको छ भने २०८४ असार ८ गते साँवा रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो नागरिक बचतपत्रमा लगानी गर्नेलाई बीचमै पैसा आवश्यक परेमा बैंक तथा वित्तीय संस्थामा यहीं पत्र धितो राखेर ऋण लिन सकिन्छ । राष्ट्र बैंकको वेबसाइटमार्फत मोनीटरी म्यानेजमेन्टमा गई अनलाइन प्रणालीबाट बचतपत्रमा आवेदन दिन सकिन्छ । आवेदन दिँदा नागरिकताको प्रतिलिपी समावेश गर्नुपर्नेछ ।