आदर्श लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ? « Arthapath.com
१ असार २०७९, बुधबार

आदर्श लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, कति कित्ता आवेदन दिने ?



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज ( असार १ गते, बुधबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले चुक्ता पूँजीको ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ६२ हजार ६१५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा असार ६ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्