ऋणपत्र धितो राखी कर्जा लिन मिल्ने १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले असार ६ गते एक सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिका लागि १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
राष्ट्र बैंकले ५ वार्षे विकास ऋणपत्र २०८४ ‘छ’ को बिक्री बोलकबोलका माध्यमबाट गरिने राष्ट्र बैंकले जनाएको छ । उक्त ऋणपत्रको असार ७ गतेका दिन बोलकबोलमार्फत बिक्री गरिनेछ भने असार ८ गतेका दिन निष्काशन गरिने भएकाले इच्छुक खरिदकर्ताले बोलकबोल पेश गर्न सक्नेछन् ।
उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिने जनाएको छ ।
ईच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने छन् । इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२.७५ अर्ब रुपैयाँ र २.२५ अर्ब रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछ ।