आदर्श लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ३ र २ ! « Arthapath.com
१३ असार २०७९, सोमबार

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न, लक्की नम्बर ३ र २ !



काठमडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सोमबार बिहान क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट सम्पन्न गरिएको हो । गोला प्रथाबाट बाँडफाँट भएको शेयरमा लम्की नम्बर ३ र २ रहेको छ ।

लघुवित्तको आईपीओमा १६ लाख ७४ हजार ६५२ जना आवेदकले १ करोड ८४ लाख २४ हजार ९ सय कित्ता शेयरका लागि १ अर्ब ८४ करोड २४ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आवेदन दिएका लगानीकर्ताहरुमा १ हजार ८५८ जनाको भने विभिन्न कारणले रद्द भएको छ । बाँकी रहेका १६ लाख ७२ हजार ७९४ जना आवेदकलाई मात्रै आईपीओ बाँडफाँट गरिएको हो ।

लघुवित्तको आईपीईओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ६ हजार २६१ जना आवेदकले मात्रै आईपीओ प्राप्त गरेका छन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकले भने बाँकी रहेको ५ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिएको छ ।

लघुवित्तले असार १ गतेदेखि असार ५ गतेसम्म चुक्ता पूँजीको ६७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ६२ हजार ६१५ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

लघुवित्तको आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्