नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति ब्याज दिन्छ ? « Arthapath.com
१४ असार २०७९, मंगलवार

नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति ब्याज दिन्छ ?



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले निष्काशन गर्न लागेको उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई छुट्याएको छ । बाँकी ६० प्रतिशत अर्थात १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बैंकको उक्त ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन् ।

बैंकको उक्त ऋणपत्रमा छिटोमा असार २६ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्