मौद्रिक नीतिबारे छलफल गर्न एनबीएको बैठक पोखरामा, गभर्नरसहित सबै बैंकका सीईओलाई बोलाइयो  « Arthapath.com
२० असार २०८२, शुक्रबार

मौद्रिक नीतिबारे छलफल गर्न एनबीएको बैठक पोखरामा, गभर्नरसहित सबै बैंकका सीईओलाई बोलाइयो 



काठमाडौं । वाणिज्य बैंकको सीईओहरुको संगठन नेपाल बैंकर्स एशोसियनको बैठक पोखरामा बस्ने भएको छ । बैंकर्स संघको बैठक असार १७ गते २ बजेदेखि पोखरामा शुरु हुने भएको हो ।

शुक्रबार हुने बैंकर्स संघको बैठक तथा छलफल कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रलाई समेत बोलाईएको छ । बैठकले मौद्रिक नीतिका बारेमा छलफल गरी राष्ट्र बैंकलाई सुझाव समेत दिने भएको हो ।

मौद्रिक नीतिको बिषयमा छलफल गर्न र डिजीटल करेन्सीबारे छलफल हुने नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी संचालन गर्ने तयारी गरेको छ । सोही विषयमा समेत उक्त कार्यक्रममा छलफल हुने भएको हो ।

छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, वाणिज्य बैंकका सीईओहरु र वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुहरुलाई बोलाईएको एक बैंकका सीईओले अर्थपथलाई जानकारी दिए ।

‘यो एनबीएको नियमित बैठक हो । राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिका बारेमा बैंकले दिने सुझावमा छलफल गरिनेछ ।’ एक सीईओले भने, ‘राष्ट्र बैंकले संचालन गर्ने डीजीटल करेन्सीबारे अरु देशको अनुभवसहितको सीईओ सुनिल पोखरेलले प्रस्तुतिकरण दिनेछन् ।’


प्रतिक्रिया दिनुहोस्