सिभिल क्यापिटल म्युचुअल फण्डका लागि अयोग्य « Arthapath.com
१६ असार २०७९, बिहीबार

सिभिल क्यापिटल म्युचुअल फण्डका लागि अयोग्य



काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेड म्युचुअल फण्ड निष्काशन गर्न अयोग्य रहेको पुष्टि भएको छ । क्यापिटलले विभिन्न कारणले म्युचुअल फण्ड निष्काशन गर्न अयोग्य रहेको खुलासा भएको हो । 

कुनै पनि क्यापिटलले म्युचुअल फण्ड निष्काशन गर्नका लागि उसको चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्ने प्रावधान छ । तर सिभिल क्यापिटलको चुक्ता पूँजीको रकम बाहिर फसेका कारण चुक्ता पूँजी नै नपुग्ने भएकाले क्यापिटल अयोग्य ठहर भएको हो । 

सिभिल क्यापिटलको चुक्ता पूँजी २१ करोड २५ लाख रुपैयाँ बराबर छ । तर क्यापिटलको झण्डै १२ करोड रुपैयाँ सिभिल सहकारीमा निक्षेपका रुपमा फसेको छ । उक्त रकम उठ्ने सम्भावना पनि कम रहेको क्यापिटलका एक पूर्व संचालकले अर्थपथलाई बताए । ‘सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङ करोडौं रकम ठगी गरेको आरोपमा थुनामा छन् । उनको छुट्ने सम्भावना कम भएकाले त्यो रकम असुल हुन सक्दैन ।’ पूर्व सञ्चालकले भने, ‘चुक्ता पूँजीको १२ करोड रुपैयाँ बाहिर जाँदा क्यापिटलको नेटवर्थ समेत घट्छ । चुक्ता पूँजीसँगै नेटवर्थ पनि घटेपछि म्युचुअल फण्ड जारी गर्न पाउँदैन ।’

सामूहिक लगानी कोष नियमावली, २०६७ को उपनियम १४ को (ग) मा क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । चुक्ता पूँजी २० करोड रुपैयाँ भएको कम्पनीले मात्रै फण्ड जारी गर्न पाउनेछन्  । तर क्यापिटलको चुक्ता पूँजी नै तोकिए बमोजिम नपुगेपछि म्युचुअल फण्ड जारी गर्न अयोग्य ठहर हुन्छ । 

चुक्ता पूँजी कम हुने बित्तीकै क्यापिटलको नेटवर्थ पनि घट्छ । फण्ड जारी गर्न कम्तिमा पनि चुक्ता पूँजीको ७५ प्रतिशत नेटवर्थ हुनु पर्ने ब्यवस्था उपनियम १४ को (घ) मा उल्लेख गरिएको छ । ‘क्यापिटलको १ सयको बराबर २१ करोड रुपैयाँ हुन्छ । १२ करोड घट्दा क्यापिटलको नेटवर्थ पनि झण्डै ५५–६० प्रतिशत घट्छ । नेटवर्थ नेगेटिभ भएका कम्पनीलाई म्युचुअल फण्ड निष्काशन गर्न दिँदैन’ ती पूर्व सञ्चालकले बताए । 

क्यापिटलले म्युचुअल फण्ड जारी गर्न नपाइनुको अर्को कारण भनेको प्रमुख कार्यकारी अधिकृतको योग्यता हो । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सामूहिक लगानी कोष नियमावली, २०६७ को उपनियम १४ को (२) को (क) मा ‘कार्यकारी प्रमुख तथा स्वतन्त्र संचालकको हकमा अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी उद्योग, वाणिज्य, धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।’

तर हाल सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन रहेको छ । सिभिल बैंकले अर्को ब्यवस्था नभएसम्मका लागि क्यापिटलको कामु सीईओमा सोभाना घिमिरेलाई पठाएको छ । उनी भर्खर बैंकिङ्ग क्षेत्रमा पाइला सार्दै गरेको बुझिएको छ । उनको योग्यता सिए भएपनि बैंकिङ्ग क्षेत्रको अनुभव ४ बर्ष मात्र रहेको उनले आफैले बताएकी छिन् । जबकि फण्ड जारी गर्न कम्तिमा पनि सिए गरेर ७ बर्ष काम गरिसकेको हुनु पर्ने प्रावधान छ । सोही कारण उनले फण्ड जारी गर्न पाउँदिनन् । 

यसअघि क्यापिटलले म्युचुअल फण्ड जारी गर्न २०७५ सालमा धितोपत्र बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डमा निवेदन दिएको ४ वर्ष बढी हुँदा पनि म्युचुअल फण्ड निष्काशन गर्न नसक्नु क्यापिटलको कमजोरी रहेको पूर्व सञ्चालक बताउँछन् । ‘म्युचुअल फण्ड जारी गर्नका लागि प्रावधान नै पुरा नगरी निवेदन दिएको र पटकपटक अयोग्य सीईओ नियुक्त गर्दा धितोपत्र बोर्ड पनि अलमलमा छ ।’ पूर्व सञ्चालकले भने, ‘निवर्तमान सीईओ झनकराज ढुंगेललाई नियुक्त गर्नुपूर्व कामु सीईओका रुपमा सुशील महर्जन कार्यरत थिए । महर्जनको पनि योग्यता नपुगेपछि फण्ड लागि आवश्यक प्रक्रिया रोकिएको थियो ।’ आफूले फण्ड जारी गर्न ठूलो पहल गरेपनि एक्लै केही गर्न नसकेको उनले गुनासो गरे । 

जब ढुंगेल सीईओ बनेर क्यापिटलमा नियुक्त भए फण्डको प्रक्रिया अगाडि बढेको थियो । तर अर्को काण्ड बाहिर आएपछि पुनः फण्ड निष्काशनमा रोक लागेको हो । फण्ड जारी गर्न धितोपत्र बोर्डले स्वीकृतिका लागि अन्तिम अवस्थामा राखेको थियो । तर सिभिल क्यापिटलको ठूलो रकम सिभिल सहकारीमा निक्षेपका रुपमा रहेको खुलासा भएपछि धितोपत्र बोर्डले फण्ड स्वीकृति प्रक्रिया नै स्थगित गरेको ती पूर्व सञ्चालक बताउँछन् । 


प्रतिक्रिया दिनुहोस्