१०.७५ प्रतिशत ब्याजमा सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन अन्तिम दिन आज « Arthapath.com
२४ असार २०७९, शुक्रबार

१०.७५ प्रतिशत ब्याजमा सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन अन्तिम दिन आज



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले असार १० गते, शुक्रबार देखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन रहेको छ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । त्यस्तै, बाँकी ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ भने सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्