फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अधिकांश सूचकमा छलाङ, खुद नाफा ८७% ले बढ्दा प्रतिशेयर नेटवर्थ कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार अधिकांश सूचकमा आकर्षक सुधार आएको छ ।
गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ८७.८२ प्रतिशत बढी खुद नाफा गरेको छ । कम्पनीको सार्वजनिक उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्ष चौथो त्रैमाससम्ममा २६ करोड ८८ लाख ८३ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीको खुद नाफा १४ करोड ३१ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।
चौथो त्रैमाससम्मममा लघुवित्तको संचालन नाफा र खुद ब्याज आम्दानीमा समेत छलाङ आएको छ । यस अवधिमा लघुवित्तको संचालन नाफा ९०.७२ प्रतिशत बढेर ३८ करोड ८४ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष सोहि अवधिमा लघुवित्तको संचालन नाफा २० करोड ३६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २० करोड ९५ लाखभन्दा बढी रहेको छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.८४ प्रतिशतले बढेर ४२ करोड ७२ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड ५६ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको चुक्तापूँजी १० प्रतिशतले बढेर ९६ करोड ४४ लाख ९२ हजार, रिटेन्ड अर्निग १०४.८० प्रतिशत बढी २३ करोड २ लाख ४६ हजार रुपैयाँ, जगेडा कोष रकम ३७.८६ प्रतिशत बढेर २१ करोड ४ लाख ४० हजार रुपैयाँ, कर्जा प्रवाह २७.२२ प्रतिशतले बढेर १० अर्ब ४० करोड ६० लाख ८८ हजार रुपैयाँ, आफ्ना सदस्य तथा ग्राहकहरूलाई भने कम्पनीले १ करोड ८९ लाख रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत बढी ९ अर्ब ४५ करोड ७६ लाख कर्जा सापटी लिएको छ ।
गत चौंथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २७ दशमलव ८८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४५ दशमलव ६९ रुपैयाँ रहेको छ ।