बिओके र हिमालयन बैङ्कले साढे ३ अर्बको ऋणपत्र जारी गर्ने, धितोपत्र बोर्डले दियो स्वीकृति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले २ बैकलाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले शुक्रबार (साउन १३ गते) हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
बैंक अफ काठमाण्डू
बोर्डबाट अनुमति पाएसँगै बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
बैंकको विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
हिमालयन बैंक
हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।
विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।